KhabarUjyalo

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल हिन्दूराष्ट्र स्थापनाको अभियानमा !

४ भाद्र २०७८, शुक्रबार
पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल हिन्दूराष्ट्र स्थापनाको अभियानमा !

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल हिन्दूराष्ट्र स्थापनामा खुलेर लागेका छन् । उनले बिहिवारबाट हिन्दुराष्ट्र अभियानको शंखघोष गरेका छन् । यसलाई हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियान नाम दिइएको छ । अभियानमा देशका ७७ औं जिल्लाका हजारौं कार्यकर्ता रहेको समेत खुलाइएको छ ।

ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमबाट अभियान शुभारम्भ गरिएको कटवालले बताए । अभियानका राष्ट्रिय संयोजक रूक्माङ्गद कटवाल नै छन् ।
कटवालले कार्यक्रमलाई सम्बोधन गर्दै भने— नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो । यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य हो ।

कार्यक्रमको रूपरेखा राख्दै राजनीतिक विश्लेषक देवेश झाले आम जनमानसले आफ्नो गौरवशाली संस्कृतिको स्वाभिमान बिर्सिएको हुनाले नै समाजमाविकृति विसंगति मौलाइरहेको बताए ।
जूममार्फत आभासी माध्यमद्वारा देशभरिका एक हजार कार्यकर्ता तथा शुभचिन्तकहरू जोडिएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू राष्ट्रको हाम्रो सङ्कल्पना विषयमा बौल्दै सबै संस्कृतिले सहजताका साथ सास फेर्न सक्ने सुनिश्चितता नै ऋषिमुनि प्रणीत हिन्दू संस्कृति रहेको उल्लेख गरे । हिन्दू धर्मले सबै प्रकारका उपासना पद्धति अपनाउन स्वतन्त्रता दिएको उल्लेख गर्दै उनले आज देशमा विधर्मीको लहैलहैमा बगेर जानाले नै अनेक समस्या आइपरेको बताए।

शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्यजी महाराजले स्वाभिमान जागरणबारे आफ्नो मन्तव्यमा हामीले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने बताए ।
हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक कल्याण कुमार तिम्सिनाले अभियानको कार्यपद्धति र त्यसको अपेक्षित परिणामबारे मन्तव्य राखेका थिए ।

नितान्त सांस्कृतिक अभियानका रूपमा अघि बढ्ने भन्दै यसका अभियन्ताले उल्लेख गरेका छन्— हिन्दू राष्ट्रको हाम्रो धारणा सांस्कृतिक हो । हिन्दुत्व नै नेपालको सांस्कृतिक पहिचान हो । नेपालमा अत्यन्त प्राचीन कालदेखि चलिआएको एउटा विशेष प्रकारको ‘राष्ट्र जीवन’ छ । भिन्न–भिन्न सम्प्रदाय, भाषा र प्राकृतिक संरचनामा आधारित लवाई–खवाईका कारण विविधता देखिए पनि धार्मिक–सांस्कृतिक रूपमा ‘एकता’ यहाँको जीवनशैलीको परिचय हो । यसमा सबैको आदर्श समान छन्, राष्ट्रको उन्नतिका लागि आकांक्षा, अनुभूतिहरु, शत्रु–मित्र, विश्वास र परम्परामा समानता रहिआएको छ । यसै राष्ट्र जीवनको नाम ‘हिन्दू राष्ट्र’ हो । हिन्दू राष्ट्रमा कुनै पनि संस्कृति लुप्त भएको छैन । सबै संस्कृतिहरूको संरक्षणको ग्यारेन्टी ९सुनिश्चितता० हिन्दू राष्ट्र हो ।
अभियानबारे विमर्श कार्यक्रमअघि पूजा एवं हवनपूर्वक केन्द्रीय कार्यालयको उद्घाटन गरिएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo