KhabarUjyalo

सबैभन्दा लोकप्रिय गोपाल हमाल !

२२ पुष २०८२, मंगलवार
सबैभन्दा लोकप्रिय गोपाल हमाल !

धनगढी: नेपाली राजनीतिज्ञहरूको जनमत मापन गर्ने अनलाइन प्लेटफर्म ‘रेटमाईनेता’ ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले राजनीतिमा ठूलो उलटफेर देखाएको छ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल देशकै सबैभन्दा लोकप्रिय नेताको रूपमा शीर्ष स्थानमा उभिएका छन्।

७ हजार ५०० भन्दा बढी भोटमध्ये ९७ प्रतिशत ‘अपभोट’ पाउँदै हमालले सात हजार ३०० भन्दा बढी सकारात्मक र केवल २५६ नकारात्मक भोट प्राप्त गरेका छन्। यो नतिजाले स्थानीय तहका स्वतन्त्र नेतृत्वप्रति बढ्दो जनविश्वास झल्काएको छ।

लोकप्रियतामा दोस्रो स्थानमा ९५ प्रतिशत एप्रुभल रेटिङसहित सागर ढकाल छन्। हालै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका उनले ६ हजार ९०० भोटमध्ये ६ हजार ५०० बढी सकारात्मक मत पाएका छन्। तेस्रो स्थानमा ९४ प्रतिशत रेटिङसहित रास्वपाकी पूर्वनेतृ सुमना श्रेष्ठ रहेकी छिन्।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) पनि ९४ प्रतिशत एप्रुभल रेटिङका साथ चौथो स्थानमा छन् भने रास्वपाकी नेतृ सोविता गौतम ९२ प्रतिशतका साथ पाँचौँ स्थानमा पुगेकी छिन्।

रास्वपाका नेताहरूको सूची लगातार बलियो देखिन्छ। निशा डाँगी, हरि ढकाल, डा. तोषिमा कार्की र उपसभापति डा. स्वर्णिम वाग्ले शीर्ष १० भित्रै परेका छन्। धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले पनि ८६ प्रतिशत एप्रुभल रेटिङ पाउँदै प्रभावशाली उपस्थिति जनाएका छन्।

तर, ठूला दलका शीर्ष नेताहरूका लागि यो रिपोर्ट भने निराशाजनक देखिएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एप्रुभल रेटिङ १० प्रतिशत मात्र छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता झन् कमजोर देखिँदै २ प्रतिशतमा झरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणाको एप्रुभल रेटिङ १ प्रतिशतमा सीमित छ, जहाँ उनीहरूले झण्डै सबै भोट नकारात्मक पाएका छन्। ‘रेटमाईनेता’ खुला अनलाइन प्लेटफर्म हो, जहाँ सर्वसाधारणले नेताको काम, आचरण र कार्यशैलीको मूल्याङ्कन गर्दै अपभोट वा डाउनभोट गर्न सक्छन्। यही भोटिङको आधारमा नेताहरूको लोकप्रियता र एप्रुभल रेटिङ तय हुने गर्छ।

यस नतिजाले पुराना राजनीतिक अनुहारप्रति जनअसन्तोष बढ्दै गएको र नयाँ तथा वैकल्पिक नेतृत्वप्रति जनविश्वास उकासिँदै गएको संकेत स्पष्ट रूपमा दिएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo