कर्णालीको पुलमा गुड्दागुड्दैको ट्रकमा आगलागी भएपछि पुलका लठ्ठामा समेत पनि क्षति भएपछि सवारीसाधन गुड्न बन्द गरिएको हो ।
वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा.५प ५२९७ नम्बरको ट्रकमा सोमबार अपराह्न आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लठ्ठामा क्षति पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीले बताए ।
यातायातका साधनलाई हुलाकी राजमार्गअन्तर्गत टीकापुर–कोठियाघाटको बाटोस्थित कर्णाली नदीको पुलबाट ‘डाइभर्ट’ गरिएको छ ।
पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मंगलबार घटनास्थल जाँदै छ ।
आगलागीबाट ट्रकमा पूर्ण रूपमा क्षति भएको छ भने त्यसमा रहेको सामान पूर्ण रूपमा नष्ट भएको छ । चालक र सहचालकलाई भने सकुशल उद्धार गरिएको छ । दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा डेढ घन्टापछि आगो नियन्त्रणमा आएको थियो ।
