KhabarUjyalo

बालकुमारीमा घटनाबारे रवि लामिछानेले भने- ‘यो राज्यले गरेको हत्या हो’

१३ पुष २०८०, शुक्रबार
बालकुमारीमा घटनाबारे रवि लामिछानेले भने- ‘यो राज्यले गरेको हत्या हो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि एकपटक उदाङ्गो भएको टिप्पणी गरेका छन् । आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्ने उनको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइ दिए । यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्। आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ ।’

घटनापछि सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्नेतर्फ पनि उतिकै हतार गरेको भए आज यो घटना नै नहुने उनको बुझाइ छ ।

उनले भने, ‘रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा मर्माहत भएको छु । शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना । गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन। तर परिवारलाई राहत दिइयोस् ।’

परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo