KhabarUjyalo

डोटीमा खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथन प्रतियोगिता हुँदै

१० जेष्ठ २०८०, बुधबार
डोटीमा खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथन प्रतियोगिता हुँदै

डोटी । गङ्गादशहरा मेलाका अवसरमा डोटीमा दोस्रो संस्करणको खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथन प्रतियोगिता २०८० हुने भएको छ । जेठ १६ गते खप्तडमा लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा १२ गतेदेखि १७ गतेसम्म हाई अल्टिच्युड म्याराथन प्रतियोगिता लगायत भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता र देउडा प्रतियोगिताको आयोजना गरिने भएको हो ।

तीन हजार तीन सयको उचाइबाट प्रतियोगिता हुने भएकाले हाई अल्टिच्युड भनिएको आयोजकले जनाएको छ । म्याराथन प्रतियोगितामा कम्तीमा ४२.५ किलोमिटर दुरी हुनुपर्ने नियम भएकाले सोही अनुसारको दुरीमा प्रतियोगिता गराइने आयोजकले जनाएको छ । खप्तडको प्रवेशद्वार झिग्रानादेखि डोटीको प्रमुख धार्मिक स्थल शैलेश्वरी मन्दिरसम्म महिलाहरूका लागि हाफ म्याराथन प्रतियोगिता हुनेसमेत आयोजकले जनाएको छ । 

डोटी उद्योग वाणिज्य सङ्घ र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन श्री नम्बर ५ बाहिनी अड्डा राजपुर, श्री भैरव प्रसाद गण सिलगढी र सिंह शार्दूल गुल्म खप्तड ब्यारेकले गर्ने आयोजकले जनाएको छ । 

म्याराथन प्रतियोगिता जेठ १७ गते बिहान ६ बजे खप्तड देखि शैलेश्वरी सम्म र महिलाहरूका लागि हाफ म्याराथन सोही दिन सोही समयमा झिग्रानादेखि शैलेश्वरी सम्म सञ्चालन हुने भएको छ । अन्य कार्यक्रम पुरुष भलिबल प्रतियोगिता जेठ १३ गतेदेखि १६ गतेसम्म, घोडा दौड प्रतियोगिता जेठ १५ गते, देउडा प्रतियोगिता १६ गते राती खप्तड क्षेत्रमै सञ्चालन गरिने डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दिपकबहादुर खड्काले जानकारी दिए ।

प्रतियोगिताको अवधिमा कम्तीमा ३ सय खेलाडी, १० हजारभन्दा बढीको संख्यामा धार्मिक तथा खेल प्रेमी पर्यटकहरूको खप्तड क्षेत्रमा भ्रमण तथा अवलोकन गराइने लक्ष्य लिएको उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहन कलेलले बताए । 

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धनमा सहयोग पुगोस भन्ने हेतुले खप्तडमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिने भएको भैरव प्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए । खुल्ला प्रतियोगिता भएकाले म्याराथनमा प्रतियोगितामा सुदूरपश्चिम भित्रमा प्रत्येक जिल्लाबाट खेलाडीहरू भाग लिने र ७ देखि १० जना सम्म विदेशी खेलाडीहरू आउने सम्भावना रहेको समेत प्रमुख सेनानी कार्कीले बताए । म्याराथनका लागि नौ वटै जिल्लाबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका एक एक जना गरी २७ जना, नौ वटै जिल्लाका जिल्ला खेलकुदको सिफारिसमा दुई जना महिला र दुई जना पुरुष गरी ३६ जना सहभागी हुने छन् । त्यसैगरी डोटी जिल्ला आयोजक भएकाले यस जिल्लाबाट केही बढीको संख्यामा खेलाडी सहभागी हुने समेत प्रमुख सेनानी कार्कीले बताए । 

म्याराथन प्रतियोगिताको लागि खुल्लातर्फ ६० जना र विभागीय तर्फ करिब ४० जना गरी बढीमा १०० जनाको सहभागिता रहने समेत जानकारी दिए । प्रतियोगिताको हिसाबमा हाई अल्टिच्युड म्याराथन प्रतियोगिता नेपालमै पहिलो प्रतियोगिता रहेको समेत प्रमुख सेनानी कार्कीले बताए ।

म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई एक लाख २५ हजार, द्वितीयलाई ८० हजार  र तृतीय हुनेलाई ५० हजार, सान्त्वना हुने ७ जनालाई क्रमशः १०, ९, ८, ७, ६, ५ र ४ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । 

त्यसैगरी हाफ म्याराथन (महिला) मा प्रथम हुनेलाई ५० हजार , द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार नगद पुरस्कार दिइने छ । सान्त्वना हुने २ जनालाई ५ हजार र २ हजार दिइने बताइएको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार नगद रहेको छ । त्यसैगरी घोडा दौड प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार नगद पुरस्कार दिइने भएको छ भने देउडामा प्रथम हुने एक जनालाई एक लाख नगद पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

अनुमानित खर्च २६ लाख आठ हजार पाँच सयमा हुन लागिएका प्रतियोगिताको लागि आर्थिक सहयोग डोटीका सम्पूर्ण स्थानीय तह तथा खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले गर्ने आयोजकले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo