KhabarUjyalo

बझाङको यार्सा पाटनमा हिमपहिरो: ३ जना बेपत्ता, दुई जना घाइते

७ जेष्ठ २०८०, आईतवार
बझाङको यार्सा पाटनमा हिमपहिरो: ३ जना बेपत्ता, दुई जना घाइते

बझाङ । बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएका तीन जना बेपत्ता भएका छन्। आइतबार बझाङको सुर्मा गाउँपालिका-२ भानसेरा पाटनमा गएको हिमपहिरोमा परी तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार अन्य दुई जना घाइते भएका छन्। ‘तीन जना बेपत्ता भएको र दुई जना घाइते भएको भन्ने खबर छ। नेटवर्क नहुँदा घटनाको वास्तविक विवरण पाउन सकिएको छैन,’ विष्टले भने। उनका अनुसार सोही पाटनमा यार्सा संकलनका लागि गएका स्थानीयले हिमपहिरोबारे जानकारी दिएका थिए।

खबर पाएलगत्तै जिल्लाबाट प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको उनले बताए। सदरमुकामबाट स्थानीयलाई हिँडेरसमेत डेढ दिन लाग्ने उक्त पाटनमा प्रहरी टोली पुगेपछि मात्र यकिन विवरण आउने उनको भनाइ छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ। हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन। उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo