KhabarUjyalo

यो गठबन्धन पाँच वर्ष तलमाथि हुँदैन, एमालेले धराप नथापे हुन्छ : गगन थापा

१९ फाल्गुन २०७९, शुक्रबार
यो गठबन्धन पाँच वर्ष तलमाथि हुँदैन, एमालेले धराप नथापे हुन्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धन पाँच वर्ष तलमाथि नहुने बताएका छन्। 

आठ दलका बागमती प्रदेश सभा सदस्यहरुका लागि शुक्रबार काठमाडौंमा गरिएको अभिमुखीकरणका क्रममा उनले यस्तो बताएका हुन्। 

‘कांग्रेस पार्टी यो पटक सबैभन्दा जिम्मेवारीसाथ अघि बढ्छ। हाम्रो पार्टीलाई या व्यक्तिालाई क्षति होस् पाँच वर्ष जे समझदारी भएको छ त्यसबाट दायाँ बायाँ चल्दैन’, उनले भने।

उनले यो गठबन्धन फुटाउने गरी एमालेले धराप थाप्न खोजेको पनि आरोप लगाएका छन्। ‘यो गठबन्धनविरुद्ध कसैले धराप थाप्न नआए हुन्छ। पार्टीका कोही कसैलाई भेटेर केही हुँदैन’, उनले भने, ‘कांग्रेससँग चकचक गरेर अब तेल निस्किनेवाला छैन।’

उनले आठ दलीय गठबन्धनमा रहेका दलहरुसँग एमालेले भोट मागेको कुरालाई केटाकेटी खेल भने। 

‘आठ दल एक ठाउँ छन्, ती दलका कार्यालय धाएर केही हुनेवाला छैन’, उनले भने, ‘यो जिस्काउने जस्तो काम भयो। हाम्रै गठबन्धनका साथीहरुले भोट दिने भए भन्दै हिँडिरहेका छन्। एकीकृत समाजवादी, लोसपा हामीसँगै छन् तर एमालेले आफूलाई भोट दिने भन्दै हिँडेछ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै उनको लहडले ५ वर्ष खेर गएको बताए। 

‘२०७४ देखि ७० सम्मको समय एउटा व्यक्तिको लहडले खेर गयो’, उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि अब हामीसँग पाँच महिना समय छ। त्यसैले अब हामीले यो अवधिका जनताले देख्ने गरी काम थालेर पाँच वर्ष पुर्‍याउनुपर्छ।’ 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo