KhabarUjyalo

विमानमा सवार हुँदै नेपाल अाइपुगे बाच्छाबाच्छी

८ पुष २०७९, शुक्रबार
विमानमा सवार हुँदै नेपाल अाइपुगे बाच्छाबाच्छी

काठमाडौं । दक्षिण कोरियाबाट नेपाल आइपुग्ने विमान प्रायः वैदेशिक रोजगारीका लागि गएका युवाले भरिएका हुन्छन् । तर बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फरक दृश्य देखियो । एसियाना एयरलाइन्सको विमान मानिसले नभएर बाच्छाबाच्छीले खचाखच भरिएको थियो ।

गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयले नश्ल सुधारका लागि उन्नत जातका बाच्छाबाच्छी नेपाल सरकारलाई उपलब्ध गराउने सहमति गरेको थियो । त्यहीँ सहमतिअनुरूप पहिलो चरणमा बिहीबार ४२ कोरेली बाछी र साँढेहरू विमान सफर गराएर नेपाल ल्याइएको हो ।

हेफर इन्टरनेशनल नेपाल र हेफर इन्टरनेशनल कोरियाको सहयोगमा एसियाना एयरलाइन्स, दक्षिण कोरियामार्फत बिहीबार साँझ ५ बजे ती बाच्छी र साँढे विमानस्थलमा ओरालिएको थियो ।केजमा राखेर ल्याइएको बाच्छाबाँछीलाई लोडरको सहायताले ट्रकमा हालेर कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान केन्द्र, खुमलटारमा राखिएको छ ।

पहिलो चरणमा नेपाल ल्याइएका ४२ बाच्छी र साँढे ६ देखि ९ महिनाका छन् । यिनलाई अब केही दिन त्यही राखिनेछ ।यी कोरेली बाच्छीहरूले बुल मदर्सको न्युक्लियस वथान स्थापना गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

पशु सेवा विभागकी महानिर्देशक डा. सम्झना कुमारी काफ्ले पाण्डेले नश्लसुधार कार्यक्रममा लागि कोरियाबाट उन्नत जातका बाच्छी र साँढे ल्याइएको जानकारी दिइन् । उनकाअनुसार साँढेबाट वीर्ण उत्पादन गरेर कृत्रिम गर्भाधानका लागि देशैभरि उपलब्ध गराइनेछ । प्राप्त बाच्छीमध्ये केहीलाई सरकारी नश्ल सुधार केन्द्र र ८१ वटालाई सिन्धुलीको कमलामाई नगरपालिकाका कृषक परिवारलाई हस्तान्तरण गरिनेछ ।

यी बाच्छा र बाच्छीले दुग्ध पदार्थमा देशलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास सरकारको छ ।नेपाल आइपुग्न बाँकी बाच्छाबाच्छी भने तीन चरणमा नेपाल ल्याउने तयारी छ । हेफर नेपाल इन्टरनेशनलका अनुसार, २३, २५ र २८ डिसेम्बरमा सम्झौताअनुसारका बाच्छाबाच्छी नेपाल आइपुग्नेछन् ।

पहिलो चरणमा नेपाल आइपुगेका बाच्छी र साँढे बिहीबार नै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । दक्षिण कोरियाका राजदूत पार्क चोङ–शुकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खराललाई हस्तान्तरण गरेका हुन् ।

उपहारस्वरूप प्राप्त बाच्छाबाच्छी स्वीकार गर्दै कृषि मन्त्रालयका सचिव खरालले दक्षिण कोरिया सरकारलाई धन्यवाद ज्ञापन गरे ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo