
बंगलादेशबाट भारत पुगेकी २२ वर्षीया कृष्णा मण्डलले प्रेमका लागि गरेको कथा आश्चर्यजनक छ । उनी आफ्ना प्रेमीलाई भेट्न खतरनाक वन्युजन्तुहरू भएको सुन्दरवन डेल्टा पार गरेर पश्चिम बंगाल आएकी हुन् । तर उनलाई प्रहरीले पक्राउ गरेर बंगलादेश फर्काउने तयारी गरेको छ ।
कृष्णाले केही समयअघि फेसबूकमार्फत भारतमा बस्ने आशिक मण्डलसँग मित्रता गाँसेकी थिइन् । त्यो मित्रता प्रेममा कुन बेला परिणत भयो दुवैले चाल पाएनन् ।
उनीहरू विवाह गर्ने निष्कर्षमा पुगे । कृष्णासँग पासपोर्ट नभएकाले भारत जान पाउँदैनथिइन् । त्यसपछि उनले सुन्दरवन डेल्टा पौडेर भारत आउने निर्णय लिइन् ।

उनी एक घन्टा नदीमा पौडिइन् र भारत सीमा पुगिन् । कोलकाताको एक मन्दिरमा कृष्णा र आशिकको विवाह पनि भयो ।
तर प्रहरीले चाल पाएपछि कृष्णालाई पक्राउ गर्यो । भारत प्रवेश गर्ने आवश्यक दस्तावेज नभएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
अब बंगलादेशका सीमा अधिकारीहरूसमक्ष कृष्णालाई सुम्पिने तयारी चलिरहेको छ । कृष्णाका पति आशिक कानूनी सहायता लिन खोजिरहेका छन् । लोकान्तरबाट साभार
