KhabarUjyalo

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध ५ वटा कसुरमा मुद्दा दायर

१० जेष्ठ २०८०, बुधबार
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध ५ वटा कसुरमा मुद्दा दायर

काठमाण्डाै । जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध आज बुधवार मुद्दा दायर गरेको छ । उनीहरूलाई ठगी, किर्ते, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले आरोपितहरूबाट २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरेको छ । मुद्दा दायर गर्नका लागि आज अन्तिम म्याद थियो । सङ्गठित अपराधसम्बन्धी अभियोगमा प्रहरीले अनुसन्धान थालेको ६० दिनभित्र सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरिसक्नुपर्ने व्यवस्था छ । आरोपीहरूलाई अदालतले दोषी ठहर गरेमा ७० हजार रुपैयाँ जरिबाना र सात वर्षसम्म कैद सजाय हुन सक्नेछ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययन गरी मुद्दाबारे निर्णय लिन सरकारी वकिलको कार्यालयले आठ जनाको टोली बनाएको थियो । टोलीको रायअनुसार मुद्दा दायर गरेको सरकारी वकिलको कार्यालयले जनाएको छ । मुद्दा दर्ता भएका ३० मध्ये १६ जना पक्राउ परिसकेका छन् । १४ जना फरार रहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध मुद्दा चलाउन भन्दै आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार रुपैयाँ बिगो असुल गर्न सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका व्यक्तिहरूमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री वालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेश फिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजाललगायत रहेका छन् । रायमाझी, खाण, पाण्डे, रिजालसहित पूर्वसभासद आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राईलगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo