काठमाडौँ — कांग्रेसले कोरोना भाइरस संक्रमण भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड-१९ अनुगमन समिति संयोजक प्रकाशशरण महतले मंगलबार विज्ञप्ति जारी गर्दै गम्भीर बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री तत्काल आपूर्ति, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित जाँच र क्वारेन्टाइन व्यवस्थाजस्ता तयारी गर्न माग गरेका हुन् । समितिले पीसीआर परीक्षण दायरालाई व्यापक बनाउन, सबै जनतालाई कोभिड १९ विरुद्धको खोप पुर्याउने, खोप आपूर्तिका लागि उच्च कूटनैतिक पहल गर्न, स्वास्थ्यकर्मीहरुको बिमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन पनि माग गरेको छ ।
पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राखिएको भन्दै व्यवस्था सुनिश्चित गर्न, हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्था कार्यान्वयन गर्न पनि माग गरिएको छ । त्यस्तै कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजबुत गर्नसमेत माग गरिएको छ ।