सरकारसँग फागुन २१ गते तीन बुँदे सहमतिमा हस्ताक्षर गरेर खुला भएको लामो समयसम्म पनि विप्लव नेतृत्वको नेकपाको राजनीतिक गतिविधि ठप्प प्रायः देखिन्छ । सो पार्टीका विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका शीर्ष नेताहरु सार्वजनिक कार्यक्रममा समेत देखिएका छैनन् । उनीहरुले खुला राजनीतिमा आएयता खुला गतिविधिसमेत देखाउन सकेका छैनन् ।
खुला राजनीतिमा आइसकेपछि विप्लव नेतृत्वको नेकपाले राजनीतिक अभियान सञ्चालन गर्ने, ठाउँठाउँमा सभा आयोजना गर्ने, संगठन निर्माणमा लाग्ने धेरैको अनुमान थियो । तर अहिलेसम्म सो पार्टीले त्यस प्रकारका राजनीतिक गतिविधि नगर्दा धेरैले आशंकाको नजरले हेर्न थालेका छन् ।
सरकारले आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिएपछि केन्द्रीयस्तरका कार्यक्रम गर्ने योजनामा रहे पनि सहमति कार्यान्वयनमा सरकारका तर्फबाट ढिला भएकाले आफ्ना कार्यक्रमहरु प्रभावित भएको नेकपाले जनाएको छ ।
गुमनाम विप्लव !
केन्द्रीयस्तरका कार्यक्रमहरु तत्काल आयोजना नभएको र नेताहरु पनि आन्तरिक काममै व्यस्त हुँदा अहिले पार्टी नै गुमनामजस्तो देखिएको विप्लव समूहका नेताहरु स्वीकार गर्छन् ।
‘सहमतिपछि सबैभन्दा पहिला हाम्रा साथीहरुलाई रिहाइ गरेपछि औपचारिक कार्यक्रम गर्ने हाम्रो उद्देश्य हो । त्यही भएर हामी अहिलेसम्म पर्खिरहेका छौं’, विप्लव समूहका केन्द्रीय सदस्य उदय चलाउने भन्छन्, ‘त्यो कारणले केन्द्रीय कार्यक्रम केही गरेका छैनौं, त्यस्ता कार्यक्रम राखेका पनि छैनौं । तर जिल्लातिर सांगठनिक कामहरु भइरहेका छन् । चर्चा नभएको मात्रै हो ।’
जनतासँगको भेटघाट र सानातिना जनसभाहरु भइरहेको उनको दावी छ । ‘भेटघाट र जिल्लास्तरका काम नभएका होइनन्, भइरहेका छन् । हामीले साथीहरुको रिहाइलाई प्राथमिकता दिएकाले अहिलेसम्म पर्खिरहेका हौं, तर अबचाहिँ केन्द्रीय समिति बैठक बोलाएर केन्द्रीयस्तरका कार्यक्रम पनि सुरु गर्छौं’, चलाउनेको भनाइ छ ।
सरकार र सो पार्टीबीच तीन बुँदे सहमति भएको भोलिपल्ट विप्लव र प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंमा आयोजित एक कार्यक्रममा एउटै मञ्चमा उपस्थित भएर सम्बोधन गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै विप्लवले सहमति भएको दिनलाई ‘एउटा नयाँ दिन’ भनेका थिए । त्यसक्रममा उनले सहमति भएको तीन बुँदाप्रति आफु प्रतिबद्ध रहेको र त्यसलाई पालनासमेत गर्ने बताएका थिए भने प्रधानमन्त्री ओलीले सहमतिलाई ठूलो सफलताको संज्ञा दिएका थिए ।
कार्यान्वयनमा ढिलाइ
विप्लव समूहका वार्ता टोली सदस्य उदयबहादुर चलाउने सरकार र आफुहरुबीच गत फागुन २१ मा भएको तीन बुँदे सहमति कार्यान्वयनमा सरकार पक्षले ढिला गरेको बताउँछन् ।
‘सहमति कार्यान्वयन गर्ने कुरामा ढिला भएको छ । यसमा हामी खुसी छैनौं’, उनले रातोपाटीसँग भने, ‘ढिला नगरौं भनेर हामीले बारम्बार आग्रह पनि गरेका छौं । उहाँहरु प्रक्रियामै छौं भनेर जवाफ दिँदै आउनुभएको छ ।’
नेता चलाउनेले व्यावहारिक रुपमा रिजल्ट आएपछि मात्रै सहमति कार्यान्वयन भयो भनेर बुझ्न र खुसी हुन सकिने बताए । ‘जतिसक्दो छिटो मुद्दा फिर्ता लिने भनिएको हो । १०÷१५ दिनभित्रै गर्नुपर्ने कुरा हो त्यो, तर डेढ महिना बितिसक्यो’, उनले असन्तुष्टि जनाए ।रातोपाटिबाट