KhabarUjyalo

देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास

१८ फाल्गुन २०७७, मंगलवार
देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास

काठमाडौ : चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू असुरक्षित रहेको बताएका छन् । देशको सुरक्षा व्यवस्थाको कमान सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा बादल मञ्चमै रहेको कार्यक्रममा सोमबार उनले आफूमाथि भौतिक हमला हुन सक्ने बताए । 

‘यो पार्टीलाई नेतृत्व गरी मैले ठीक ढंगले अगाडि बढाइरहेको र सरकार पनि गतिशील भई सञ्चालन गरिरहेको हुनाले ममाथि प्रहार भइरहेका छन् । तपाईंहरू देखिरहनुभएको छ, सम्पूर्ण रूपमा ममाथि अत्यन्तै तीव्र ढंगले प्रहार भइरहेको छ । ममाथि कुनै शारीरिक हमला नै भयो भने पनि तपार्इंहरू अनौठो नमान्नुहोला,’ पोखरामा आयोजित नेकपाको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, ‘तर, त्यस्तो हुन दिइनेछैन, हामी सतर्कता अपनाउनेछौँ । म रहिनँ भने पनि केही छैन । पार्टी छ, आन्दोलन छ ।’ 

तर, सुरक्षा निकायको निष्कर्षमा भने प्रधानमन्त्री ओलीलाई त्यस्तो कुनै ‘थ्रेट’ छैन । बरु, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सुरक्षा निकायका उच्च अधिकारी असन्तुष्ट देखिएका छन् । प्रधानमन्त्रीको भाषणको खण्डन गर्नुपर्ने भएकाले यस विषयमा उनीहरू औपचारिक रूपमा भने बोल्न चाहँदैनन् । ‘प्रधानमन्त्रीको भाषणले हाम्रो शिर निहुरिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘उहाँले आफ्नो फाइदाका लागि सुरक्षाकर्मी र देशको बेइज्जत गर्नुभएको छ ।’

प्रधानमन्त्रीको सुरक्षामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली चौबीसै घन्टा तैनाथ रहन्छ । बालुवाटारस्थित सरकारी निवासदेखि सिंहदरबारस्थित कार्यालयसम्म सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था हुन्छ । बालुवाटारबाहिर निस्कँदा पनि प्रधानमन्त्रीलाई गुप्तचरबाहेकका तीनवटै निकायका कम्तीमा तीस सुरक्षाकर्मीले स्कर्टिङ गर्छन् ।

फेरि पनि प्रधानमन्त्री ओलीले किन असुरक्षित महसुस गरे त ? राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माका अनुसार लोकप्रियता घटेपछि जनताको सहानुभूति बटुल्न प्रधानमन्त्रीको यस्तो भनाइ आएको हुन सक्छ । ‘प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद छ । लोकप्रियता गुम्दै गएपछि देशका लागि केही गर्न खोज्दाखोज्दै मेरो हत्या गर्न खोजिएको छ भनेर सहानुभूति लिन खोजेकोजस्तो लाग्यो,’ उनले भने, ‘तर, यो राम्रो होइन ।’

नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले पनि प्रधानमन्त्री ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए । ‘यस्ता कुराले सुरक्षा निकायको पूरै ‘मोरल डाउन’ हुन्छ । सुरक्षाकर्मी त निकम्मा रहेछन् भन्ने सन्देश जान्छ,’ उनले भने, ‘मनोवैज्ञानिक रूपमा तीन करोड नेपालीले त असुरक्षित महसुस गर्ने नै भए, विदेशीलाई समेत त्यसको असर पर्छ । देशकै प्रधानमन्त्रीले नै सुरक्षित छैन भन्छन् भने त्यो देश त असुरक्षित रहेछ, त्यस्तो देशमा किन जाने भन्ने हुन्छ ।’ नयाँ पत्रीकाबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo