KhabarUjyalo

अछाममा चलनचल्तीका घरेलु औजारको प्रयोग घट्दै

२२ फाल्गुन २०७९, सोमबार
अछाममा चलनचल्तीका घरेलु औजारको प्रयोग घट्दै

अछाम । अछाममा चलनचल्तीका घरेलु औजारको प्रयोग घट्दै गएको छ । कुनै समय दैनिक काम संगै आम्दानीको माध्यम बनेको घरेलु औजार पछिल्लो समय प्रयोग विहिन बन्दै जान थालेका छन । स्थानीयले दैनिक प्रयोग गर्दै आएका ओखल, जाँतो, कोल लगायतका सामानको प्रयोग घट्दै जान थालेको हो ।

गाउँमा बिजुलीबाट चल्ने मिल संचालनमा आएपछि जाँतो बन्द भएको कमलबजार नगरपालिका–१ मुलीकी सरु विष्टले बताइन् । ‘गाउँमा मिल आएपछि ओखल, जाँतो बन्द भए,’ उनले भनिन्, ‘सुत्केरी आमा र बच्चाका लागि ओखलमा कुटेको धान र कोलमा पेलेको तेल औषधि जस्तै हो । यसमा न कुनै मिसावटको डर हुन्छ । न पैसा नै खर्च हुन्छ । तर अहिलेका पुस्ताले बिर्से ।’ उनका अनुसार आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका साधन बढेपछि ग्रामीण क्षेत्रको रैथाने प्रविधि विस्थापित भएका छन ।

‘उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने कोल, धान, मकै कुट्ने ओखल हामीले नै जोगाएर राखेका थियौं,’ उमेर ढल्किएसँगै परम्परा पनि ओरालो लागेको बताउँदै मुलीकै गुमा विष्टले भनिन्, ‘जन्मनेबित्तिकै बच्चालाई कोलमा पेलको तेलको प्रयोग गर्दा दिमाग तेजिलो हुने विश्वास गरिन्छ । बच्चाका लागि प्रयोग हुने तेल पनि बजारबाटै किन्छन ।’ कोलबाट उत्पादित तेलमा मेसिनमा पेलेर निकालिएको तेलको तुलनामा बढी शुद्धता हुने उनी बताउँछिन । लोप हुँदै गएका पुराना पुर्ख्यौली मौलिक संरचना र प्रविधिहरू, नयाँ विद्युतीय सामग्रीहरूको बढ्दो बजारले गर्दा खोज्दा पनि नपाइने भएको छ ।

‘अहिलेका नयाँ पुस्ताहरू नाम सुने पनि अचम्म मान्ने गर्छन्,’ ढकारीका स्थानीय रामबहादुर बुढाले भने, ‘यसरी नै भुलिँदै गयो भने भोलि आउने नयाँ पुस्ताले हाम्रो पुर्ख्यौली प्रविधिहरू खोजेर पाउन्नन ।’ केही वर्षअघिसम्म गाउँघरमा चिउरी तथा तोरी पेल्नका लागि प्रयोग गरिँदै आएका काठेकोल यतिबेला विभिन्न प्रविधिको विकाससँगै लोप हुँदै गएका छन । अहिले पनि जिल्लाका बस्ती, बलाता, ढकारी र हिच्माका कृषकले काठेकोलको प्रयोग गर्ने गरेका छन । यी क्षेत्रमै ओखल, ढिकी र जाँतो पनि हटेका छैनन ।

स्थानीयस्तरमा परम्परागत प्रविधिको प्रयोग कम हुँदै गएको मुलीका नन्द विष्ट बताउँछन । उनकै शब्दमा पुराना वस्तुको संरक्षण गर्नेभन्दा पनि छिटोछरितो कसरी हुन्छ भन्नेतिर लागेका कारण कोल हराउन थालेका हुन । एक दशक अगाडिसम्म कृषकले कोलको माध्यमबाट तोरी र चिउरी पेलेर घिउ तेलको जोहो गर्दै आएका थिए । कोलको निर्माण गर्दा लगानी कम लाग्ने भए पनि उक्त कोलमा पेलेर तेल निकाल्ने काम भने त्यति सजिलो छैन । तोरी, चिउरीलगायत वस्तु आधुनिक मेसिनबाट पेल्ने गरिए पनि चिउरीको बिजुला पेल्न भने काठेकोल निकै उपयोगी भएको उनको भनाइ छ । गाउँका बूढापाकाले यस्ता वस्तुको संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन ।

चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग बिस्तारै घट्दै गएको स्थानीय बताउँछन । स्थानीय स्रोत, साधन एवम् स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिने स्थानीयको बुझाइ छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo