KhabarUjyalo

चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु

१९ फाल्गुन २०७९, शुक्रबार
चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु

धनगढी । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो ।

यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ ।

त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का पुजन सिञ्जाली, बन्दीपुर–४ का इसाक सुनार र शुक्लागण्डकी–२ नारन रानाको मृत्यु भएको छ ।

चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको उनले बताए ।

त्यसैगरी यसै आवमा वन्यजन्तुबाट ४२ घटनामा ७७ पशुधन क्षति भएका छन् । त्यसमा बाख्रा ६९, बङ्गुर पाँच, गाई एक, पाडो एक र सुँगुर एक क्षति भएका छन् ।

त्यसैगरी चार रतुवा मृग, एक अजिङ्गरको उद्धार गरिएको छ भने तीन चितुवा र एक निरबिरालो मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिए ।

प्रत्येक पालिकामा पानीको पोखरी निर्माणकार्यलाई प्राथमिकता दिएसँगै विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको उनले बताए।

खोला खोल्सीमा रहेका सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउनका लागि वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणकार्यलाई तीव्रता दिइएकोउनले बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo