
काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप)ले भारतको पन्जाब राज्यमा नयाँ सरकार गठन गर्ने भएको छ ।
२० फेब्रुअरीमा भएको मतदानको मत परिणाम सार्वजनिक भएसँगै पन्जाबमा आम आदमी पार्टीको सरकार बन्ने पक्का भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टाइम्स अफ इण्डियाका अनुसार आपले पन्जाब विधानसभामा रहेको ११७ मध्ये ९१ सिटमा जित हासिल गरेको छ ।
त्यहाँ सरकार बनाउन केवल ५९ सिट भए पुग्छ । दोस्रो स्थानको कंग्रेस पार्टीले १३ सिट मात्रै जितेको छ । तेश्रो स्थानको शिरोमणी अकाली दलले ८ सिटमा चित्त बुझाएको छ । केन्द्र सरकार चलाइरहेको बीजेपी भने केबल ४ सिटमा सीमित भएको छ ।

आपको जितसँगै पन्जाबमा भगवन्त मनको नेतृत्वमा आपले नयाँ सरकार बनाउने जनाइएको छ ।
