काठमाडौं, १ चैत । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको छ ।
माओवादी केन्द्र ब्यूँतिएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ । बैठकमा रामबहादुर थापा ‘बादल’ सहित १३ जना सांसद र अन्य १० जना केन्द्रीय सदस्यमाथि अनुशासनको कारबाही प्रस्ताव गरिएको छ ।
माओवादीको शनिबार सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समिति बैठक बसेको हो । माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव पनि बैठकमा पेश भएको छ । पार्टीको नाम के राख्ने भन्ने चाहिँ प्रस्ताव गरिएको छैन ।
माओवादीभित्र नेकपा (समाजवाद) वा नेपाली कम्युनिष्ट पार्टी कुन नाम राख्ने भन्नेबारे छलफल चलिरहेको छ । कतिपयले भने माओवादी ब्राण्ड छाड्न नहुने अडान पनि लिएका छन् ।
गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामाले ओलीलाई साथ दिएका छनन् । माओवादी केन्द्रले उनीहरूलाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थियो ।