काठमाडौ : कर्मचारीको मिलेमतोमा जग्गा दलालले नक्कली कागजात बनाई काठमाडौंको थानकोटमा एक रोपनी चार आना जग्गा बिक्री गरेको खुलेको छ । विदेशमा रहेका जग्गाधनीको नक्कली कागजात बनाई सो जग्गा एक करोड सात लाख रुपैयाँमा बिक्री गर्न सहयोग गर्ने मालपोत कार्यालयका कर्मचारी पक्राउ परेपछि यो तथ्य सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार मिलेमतोमा जग्गा बिक्री गर्ने कलंकीस्थित मालपोत कार्यालयका अधिकृत दीपक दाहाल, नायब सुब्बा नारायण श्रेष्ठ र खरिदार दीपा पंगेनी पक्राउ परेका हुन् । उनीहरूले धादिङ–५ पतेनीका बालप्रसाद भट्ट र काभ्रे पनौतीका पुण्यप्रसाद काफ्लेलगायतसँगको मिलेमतोमा थानकोटस्थित मीना खड्काको नाममा रहेको जग्गा बिक्री गरेका थिए ।
अनुसन्धानका क्रममा पक्राउ परेका अधिकृत दाहाल र नासु श्रेष्ठ चार–चार लाख र खरिदार पंगेनी एक लाख रुपैयाँ धरौटीमा हिरासतमुक्त भइसकेका छन् । उनीहरूसँगै पक्राउ परेका भट्ट, काफ्लेसहितका नौजना प्रहरी हिरासतमा छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले विदेशमा रहेका जग्गाधनीको नाममा नक्कली कागजात बनाई जग्गा बिक्री गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको बताए । ‘विदेशमा रहेका व्यक्तिको नाममा रहेको जग्गा बिक्री गरेको देखियो । यसका लागि सम्पूर्ण कागजात नक्कली बनाइएको रहेछ । सो कार्यमा मालपोतकै कर्मचारी संलग्न रहेछन् । अनुसन्धानका क्रममा सबै पक्राउ परे । अनुसन्धान जारी छ,’ उनले भने ।
जग्गाधनी विदेशमा,नक्कलीधनी बनाएर जग्गा बिक्री
प्रहरीका अनुसार बिक्री गरिएका जग्गाका धनी खड्का बेल्जियममा बस्छिन् । उनी विदेशमा रहेको सुइँको काफ्ले र भट्टले पाएका थिए । त्यसलगत्तै उनीहरूले खड्काको नाममा रहेको जग्गाको नक्कलीधनी खडा गर्ने र उनकै नाममा किर्ते कागजात बनाई बिक्री गर्ने योजना बनाए । उनीहरूको योजनालाई मालपोत कार्यालय कलंकीका अधिकृत दाहाल, नासु श्रेष्ठ र खरिदार पंगेनीले सहयोग गरे ।
‘जग्गाधनी खड्का विदेशमा बस्ने रहिछिन् । त्यसको सुइँको पाएपछि काफ्ले र भट्टले नक्कलीधनी खडा गरे । कागजात बनाए । र, एक करोड सात लाख रुपैयाँमा बिक्री गरेछन्,’ काठमाडौं परिसर प्रमुख सिंहले भने, ‘नयाँ जग्गाधनीले संरचना बनाउन खोज्दा धनीलाई नै थाहा नदिई बिक्री भएको खुल्यो । जाहेरी परेपछि अनुसन्धान गर्दा यस्तो धन्दामा गिरोह नै संलग्न रहेको पाइयो ।’
प्रहरीका अनुसार नक्कली कागजातका आधारमा जग्गा खरिद गर्ने भक्तपुर थिमि–४ का कृष्णगोपाल श्रेष्ठ, रत्नकेशरी श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र विजयलक्ष्मी श्रेष्ठ हुन् । उनीहरूले ७२ लाख रुपैयाँमा जग्गा खरिद गरेका थिए । सोही जग्गा उनीहरूले काभ्रे धुलिखेलका कुमार दाहाललाई बिक्री गर्न खोजेका थिए । यसका लागि उनीहरूले दाहालसँग बैनाबापत ३५ लाख रुपैयाँसमेत लिइसकेका थिए । दुई पक्ष गरी घटनाका मुख्य योजनाकार मानिएका काफ्ले र भट्टको टोलीले एक करोड सात लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।
संगठित तवरले नक्कली धनीपुर्जा र कागजात बनाई जग्गा बिक्री गरिएकाले संगठित अपराधअन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए । ‘घटनामा १२ जना संलग्न छन् । उनीहरूले चलाखीपूर्ण तवरले योजना बनाई जग्गा बिक्री गरेको देखिन्छ । उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान हुँदै छ,’ उनले भने । नयाँ पत्रीकाबाट