धनगढी : कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा आजदेखि थरुहट/थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु भएकाे छ। सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहटले युवा दस्तासहित सम्मेलन सुरु गरेका हुन्। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित ५० हजारको सहभागिता रहने जनाइएको छ। सम्मेलन उद्घाटनको क्रममा थरुहट युवा दस्ताको मार्च पाससमेत भएको छ ।
सम्मेलन उद्घाटनपछि बन्दसत्र सुरु हुने र घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने आयोजकले जानकारी दिएको छ। टीकापुर घटनाको मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला, संविधानप्रति थारु समुदायको असन्तुष्टि, राज्य पुनःसंरचना गर्दा गरिएको सिमांकन र नामांकनप्रति रहँदै आएको विमति लगायतका सवालमा सम्मेलनमा गहन ढंगले छलफल गरिने जनाइएको छ।