काठमाडौं । बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् । त्यस्तै इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन् ।
बढुवा गरिएका पदम थापाले भागरथी प्रकरणसँगै कैलालीमा भएको दुई प्रहरीको हत्या, कञ्चनपुरमा भएको खण्टी भुलको हत्या लगायतका घटनाको प्रतिवादी समात्न महत्वपूर्ण भूमिका खेलेको र जवान नरबहादुरले भागरथी, दुई प्रहरीको हत्यासहित बझाङमा भएको सम्झना विकको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका भन्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एक तह बढुवा गरेका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन् ।