KhabarUjyalo

ओली हटेपछि को नयाँ प्रधानमन्त्री ?

१२ फाल्गुन २०७७, बुधबार
ओली हटेपछि को नयाँ प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले मंगलबार बदर गरेको छ । यसले गर्दा प्रधानमन्त्री ओली नैतिक संकटमा परेका छन् । लगभग उनको पद गुम्ने निश्चित भइसकेको छ । तर, ओलीको बहिर्गमनपछि अब को प्रधानमन्त्री हुन्छ भन्ने निश्चित भएको छैन । त्यसैले हअब कसले नेतृत्वमा सरकार गठन हुने सम्भावना छ त ? केलाउने प्रयास गरौं ।

सत्तारुढ नेकपामा प्रतिनिधिसभामा १७४ जना सांसद थिए । संसद् विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहसँग अहिले ९२ सांसद छन् । बाँकी ८२ जना ओलीतिर छन् ।

प्रधानमन्त्री ओलीविरुद्ध गत पुस ५ गते अविश्वासको प्रस्ताव पेस गर्दा प्रचण्ड–माधव समूहसँग ९२ जनाको हस्ताक्षर थियो । त्यसमा केही मन्त्रीको हस्ताक्षर बाँकी थियो । त्यसमध्ये केही ओलीतिर लागेका छन् । केही पुनः प्रचण्ड–माधव समूहमा फर्किएका पनि छन् ।

संसद् पुनःस्थापना भएपछि ओलीतिरबाट आफ्नो समूहमा १५ जनाभन्दा बढी सांसद फर्कने प्रचण्ड–माधव समूहका नेताहरुले दाबी गरिहेका छन् ।

यसोगर्दा प्रतिनिधिसभामा रहेका १७४ मध्ये १०० भन्दा बढी सांसद प्रचण्ड–माधव पक्षसँग हुनेछन् । सरकार गठन गर्न १३८ मत आवश्यक हुन्छ । यसरी हेर्दा प्रचण्ड–माधव समूहलाई ३८ जना सांसद् चाहिएको देखिन्छ ।

यसले गर्दा यो समूहलाई ओली पक्षबाट अरू दुई–चार जना सांसद तानेर र साना दललाई विश्वासमा लिएर सरकार गठन गर्ने बाटो पनि छ । तर, यो अलि कठिन देखिन्छ ।

ओलीतिरबाट अहिले नै सांसदहरू फर्किइहाल्ने विश्वासमा प्रचण्ड–माधव समूह नभएको बताइन्छ । यसर्थ, पहिलो विकल्प कांग्रेससमेतलाई विश्वासमा लिएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने देखिन्छ ।

कांग्रेसको समर्थनमा सरकार गठन गर्ने विषयमा छलफल चलाउने प्रचण्ड–माधव समूहको योजना छ ।

यसैअनुरुप आजै मात्र यो समूहका नेताहरु प्रचण्ड र नेपाल देउवा निवास बूढानिलकण्ठ गएका छन् । त्यहाँ उनीहरुले सभापति शेरबहादुर देउवासँग सहकार्यको हात अघि बढाएका छन् ।

कांग्रेस आफूहरुलाई नेतृत्व स्वीकार्न तयार नभएर उसैलाई सरकारको नेतृत्व दिनेगरी समझदारी खोज्ने विकल्प पनि रहेको प्रचण्ड–माधव समूहको रहेको विश्लेषण छ । प्रचण्ड–माधव समूहलाई कांग्रेसले नेतृत्व स्विकारेमा प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना रहेको छ , किनकि, यो समूहले यसअघि नै प्रचण्डलाई संसदीय दलको नेता चुनिसकेको छ । 

अर्कोतिर ओली पक्षले पनि आफ्नो तयारी थालिसकेको बुझिएको छ । ओली समूहनिकट स्रोतका अनुसार जुनसुकै मूल्य चुकाएर भए पनि सरकारको नेतृत्व प्रचण्ड र नेपाललाई नदिने योजनामा ओली छन् ।

राष्ट्रिय युवा संगठनले मंगलबार आयोजना गरेको शपथ कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाललाई कुनै हालतमा प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएका छन् । यसले कांग्रेससँगै सहकार्य गर्ने सम्भावना धैरै छ । यसर्थ, फेरि देउवाको भाग्य खुलेको विश्लेषण गरिएको छ ।

संसद्मा कांग्रेसको ६३ सिट छ भने राजपाका १७ र संघीय समाजवादीका १६ सिट छन् । ६ जना सांसद भने स्वतन्त्रको हैसियतमा छन् । सरकार गठनमा कांग्रेस निर्णायक रहेकाले अब देउवा प्रधानमन्त्री हुने प्रबल सम्भावना रहेको विश्लेषकहरुको भनाइ छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo