KhabarUjyalo

भागरथी भट्टको हत्यारा भेटियो,बलात्कारी भेटिएन्

६ फाल्गुन २०७७, बिहीबार
भागरथी भट्टको हत्यारा भेटियो,बलात्कारी भेटिएन्

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार दिउँसो गरेको पत्रकार सम्मेलनमा सोही गाउँका १७ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुसन्धानबाट अभियुक्त समात्न सफल भएको बताउनुभयो ।अनुसन्धान शुरु गरेदेखि नै ती व्यक्ति निगरानीमा थिए, सोधपुछ गर्दै जाँदा अन्तिममा उसले अपराध स्वीकार गरेको जनाइएको छ । आरोपितको बारम्बारको बयान बाझिएको र उसले गरेको गतिविधिले अपराध गरेको पुष्टि गरेको हो ।‘शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साविती बयानका आधारमा आरोपितलाई समातेका हौं’, पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले भन्नुभयो– ‘आरोपित त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन हेर्दा हत्यामा उसैको संलग्नता भएको पुष्टि भएपछि पक्राउ गरी बयान लिँदा घटना आफैले गराएको स्वीकार गरे ।’

भागरथीको पोस्टमार्टम रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि दिनेशले भने आफूले बलात्कार नगरेको बयानका क्रममा बताएका छन् । प्रहरीले पनि हत्या हो वा बलात्कारपछि हत्या भएको खुल्न नसकेको जनाएको छ ।‘अनुसन्धानकै क्रममा रहेकाले अहिले नै सबै कुरा सार्वजनिक गर्न मिल्दैन’, सुवेदीले भन्नुभयो– ‘मृतकको स्वाब परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि त्यो कुरा पुष्टि होला ।’भागरथीले नै अध्ययन गर्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक जंगलमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको खुलेको पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।भागरथीको हत्या गर्ने पूर्वयोजना रहेको र माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्ल भन्ने स्थानबाट भागरथी आउनुअघि नै बाटो ढुकेर बसेको प्रहरीलाई बयान दिएका छन् ।

भागरथी त्यहाँ पुग्नेबित्तिकै सडकबाट तल धकेल्दै दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान दिएको डीआईजी सुवेदीले बताउनुभयो । पुरानो घरायसी रिसइबीका कारण आफूले भागरथीको हत्या गरेको दिनेशले प्रहरीसमक्ष बताएका छन् । नेपाल समाचारबाट

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo