KhabarUjyalo

कवि सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ माथी विमर्श !

१४ माघ २०८०, आईतवार
कवि सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ माथी विमर्श !

बुटवल : कवि सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ माथी विमर्श कार्यक्रम सम्पन्न भएको छ । प्राज्ञिक बौद्धिक व्यक्तित्व ,नारी स्रष्टा र साहित्यकारहरूको उपस्थितिमा शनिबार बुटवलमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता, मार्क्सवादी चिन्तक लेखक तथा कवि दिल साहानीले सुमिनाका कवितामा विद्रोही नारी स्वर बुलन्द भएर आएको साथै कविता कतै सामाजिक यथार्थवाद त कतै समाजवादी यथार्थवादमा मिश्रित भएर प्रकट भएको बताए ।

कार्यक्रमका प्रमुख वक्तासमेत रहेका दिल साहनीले अध्ययनबाट इस्पार्टाकस, प्रमिथस र सम्बुकजस्ता मिथकीय पात्रहरूलाई कवितामा उतार्नु सकारात्मक र प्रशंसनीय भएको बताए । साहनीले सुमिनाको लेखनले साहित्य जगतमा उज्ज्वल भविष्य संकेत गरेको बताउँदै विद्रोह र मुक्तिको आन्दोलन एकल सङ्घर्षबाट मात्रै नभएर सामूहिक प्रयत्नबाट हुने कुरामा पनि उनले जोड दिए ।

त्यसैगरी शिक्षक मिनाक्षी न्यौपानेले पनि सुमिनाका कविता पढ्दैगर्दा कैयौँठाउँमा आफैलाई भेट्टाएको कुरा व्यक्त गरिन् । लेखनमा यस्तो खालको विद्रोही नारी चेतनाकाे आवश्यका रहेको कुरामा उनकाे जोड रह्यो ।

कविता के हुन् र कस्ता हुन् भन्ने कुरा कविले व्याख्या गर्नुपर्ने परिस्थिति निम्तनुलाई असफल कविताको संज्ञा दिदै कवि सुमिनाले आफ्ना कविता सफल कविता हुन् भने ती कविताले पाठकहरूको माझमा आफूलाई स्वतस्फुर्त रुपमा चिनाउनुपर्ने कुरा व्यक्त गरिन् ।

सुमिनाले कुनैपनि कृतिको लेखन लोकरिझाँई, प्रसिद्धि, भावुकता र मनोरञ्जनभन्दा निकै माथिको कुरा भएकाेले सामाजिक यथार्थलाई स्वीकारेर लेखिनुपर्ने भएकाले आफ्ना कविताले सामाजिक, राजनीति, आर्थिक उत्पीडितका सत्यको पक्षकाे अभिव्यक्ति भएको जिकिर गरिन् ।

‘अल्पसंख्यक नै भए पनि न्याय र सत्यको पक्षमा दृढतापूर्वक हाम्रा कलम चल्नुपर्छ र हामी उभिनुपर्छ भन्ने मान्यताका साथ नै मैले यी कविताहरू लेखेकी हुँ । मेरो निम्ति सत्यको अभिव्यक्ति, वर्ग पक्षधरता, वैचारिक हस्तक्षेप र आफैमा एउटा न्यायको लडाइँ हो कविता हो` सुमिनाले भनिन् ।

कार्यक्रममा अम्बिका पोखरेल र रमा जैसीले बागी स्त्रीको आत्मकथामा समावेश कविता वाचन गरेका थिए ।

 

 

 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo