
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा एमालेलाई शून्य नबनाइदिन आग्रह गरेका छन्। बुधबार बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई आफ्नो पार्टीलाई शून्य नबनाउन आग्रह गरेको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षले हामीलाई जिरो नगर्नुस् भन्नुभयो भन्ने कुरा आएको छ, एमालेको ठोस कुरा के हो बुझेर मात्र अघि बढ्नुपर्छ भनेर हामीले भनेका छौं।’ बैठकपछि उनले भने ।
एमालेलाई पनि राष्ट्रिय सभामा समेटेर जान कांग्रेस र माओवादी सकारात्मक रहेको उनले बताए।

बुधबार अपराह्नमा बालुवाटारमा सत्ताघटक चार दलको बैठक बसेको थियो।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटबारे करिब दुई घन्टा छलफल भएको थियो। बिहीबार बस्ने गरि गठबन्धनको बैठक सकिएलगत्तै ओली बालुवाटार पुगेका थिए।
