धनगढी — विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै उत्पादन निर्माण (Product Manufacturing), नवप्रवर्तन तथा व्यवहारिक STEAM शिक्षासँग जोड्ने उद्देश्यले Stepping Stone School मा पहिलोपटक छुकछुके रोबोट निर्माण कार्यशाला सुरु भएको छ।
कार्यशाला जेठ २१ गतेबाट प्रारम्भ भएको हो। एक महिनासम्म सञ्चालन हुने यस कार्यक्रमलाई कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि चरणबद्ध रूपमा सञ्चालन गरिनेछ। प्रत्येक कक्षाका विद्यार्थीहरूले चारदिने विशेष कार्यशालामार्फत डिजाइन, मेकानिकल संरचना, इलेक्ट्रोनिक्स तथा रोबोट सञ्चालन सम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गर्नेछन्।
विद्यालयका प्राचार्य रामजी हमाल ले आजको शिक्षाले केवल परीक्षा केन्द्रित ज्ञानभन्दा पनि सिर्जना, निर्माण र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई सानै उमेरदेखि उत्पादन निर्माण प्रक्रियाको अनुभव गराउनु नै कार्यशालाको प्रमुख उद्देश्य रहेको उल्लेख गर्नुभयो।
कार्यशालामा सहभागी विद्यार्थीहरूले कम्प्युटरमा डिजिटल डिजाइन तयार गर्ने, मेकानिकल संरचना निर्माण गर्ने, इलेक्ट्रोनिक प्रणाली जडान गर्ने तथा अन्ततः आफ्नै छुकछुके रोबोट निर्माण गर्ने अवसर प्राप्त गर्नेछन्। यस प्रक्रियामार्फत विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) को एकीकृत प्रयोग सिक्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको सहजीकरण गोदावरी आविष्कार केन्द्र ले गरिरहेको छ। आयोजकका अनुसार कार्यशालाले विद्यार्थीहरूमा सिर्जनशील सोच, समस्या समाधान क्षमता, टोलीगत कार्य तथा आत्मनिर्भर बन्ने सीपको विकास गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
धनगढीमा पहिलोपटक सञ्चालन हुन लागेको यस प्रकारको दीर्घकालीन छुकछुके रोबोट निर्माण कार्यशालाले विद्यालयस्तरमै उत्पादन निर्माण र नवप्रवर्तन संस्कृतिको विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। विद्यालय प्रशासनले यस कार्यक्रमलाई भविष्यमा थप विस्तार गर्दै विद्यार्थीहरूलाई व्यवहारिक तथा उद्यमशील शिक्षासँग जोड्ने लक्ष्य लिएको जनाएको छ।
