नवलपरासी पश्चिम् : पश्चिम नवलपरासी सरावल गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकले ९ वर्षीया छात्रालाई घरमै पुगेर लौरोले निर्घात कुटपिट गरेका छन्।
सरावल– ७ बर्गदवामा रहेको बर्दघाट कालिका इङ्ग्लिस स्कुलमा अध्ययनरत ती बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन्।
कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापकसमेत रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेका हुन्। कुटपिटबाट बालिकाको शरीरमा राता राता नील डामहरू बसेका छन्।
बालिकाको घरमा गएरसमेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेको यादवले विद्यालय आएपछि लौरो र लात्तीले प्रहार गरेको अभिभावकले जानकारी दिए।
छतमा लगेर कुटपिट गरेको र कुटपिट पछि बालिका तल्लो तलामा झर्नसमेत नसकेपछि साथीहरूको सहयोगमा झरेकी थिइन्। स्थानीयले कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ।
