KhabarUjyalo

एसियाली खेलकुद : २५ वर्षपछि नेपाललाई रजत पदक

२१ आश्विन २०८०, आईतवार
एसियाली खेलकुद : २५ वर्षपछि नेपाललाई रजत पदक

काठमाडाैं। चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा कराँतेतर्फ एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।

हाङझाउस्थित लिननी स्पोर्टस् सेन्टर जिम्न्याजियममा शनिबार भएको महिला ६८ केजी तौल समूहमा एरिका फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० पराजित भइन् । गत महिना इन्डोनेसियामा भएको एसियन कराँते च्याम्पियनसिपमा एरिकाले स्वर्ण पदक जितेकी थिइन् ।

उनलाई स्वर्णको दाबेदारका रूपमा हेरिएकाे छ।

१९औँ एसियाडमा १९ वर्षीय एरिकाले सीधै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । क्वार्टरफाइनलमा उनको खेल विश्व वरीयताको पाँचौँ स्थानमा रहेकी जापानकी एजुकी सवाईसँग थियो । एजुकीले यसअघि आफूले स्पर्धा गरेको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण जित्दै आएकी थिइन् । विश्व कराँते महासंघको वरीयतामा पाँचाैँ स्थानमा रहेकी एजुकीलाई १९औँ एसियाडमा स्वर्णको दाबेदारी खेलाडीका रूपमा हेरिएको थियो ।

यसैलाई हेरेर नेपालकी एरिका सहजै क्वार्टरफाइनलमा पराजित हुने अनुमान थियो । तर, एरिकाले आफूभन्दा निकै अनुभवी एजुकीलाई सेन्सुका आधारमा हराउँदै सेमिफाइनलमा स्थान बनाइन् । क्वार्टरफाइनलमा एरिकाले एजुकीलाई १–१ को बराबरीमा रोकेकी थिइन् । निर्धारित समयमा बराबरी अंकपछि थप समयमा पहिलो अंक बटुल्ने खेलाडी विजय हुने प्रावधान थियो । जसमा पहिलो अंक बटुल्दै एरिका ऐतिहासिक रूपमा फाइनलमा प्रवेश गरेकी थिइन् ।

एसियाडमा नेपाली कराँते खेलाडीले पहिलोपटक फाइनलमा स्थान बनाएको हो । यसअघि सेमिफाइनलमा एरिकाले हङकङकी यान काई होलाई ८–४ ले हराएकी थिइन् । एरिकाले स्वर्ण पदकको भिडन्तमा प्रतिस्पर्धा गरेकी काजकिस्तानकी सोफया विश्व कराँते खेलमा निकै अनुभवी खेलाडी हुन् ।

एरिकासँग प्रतिस्पर्धा गरेकी सोफया २०२० को जापानको टोकियोमा भएको ओलम्पिक खेलमा कांस्य पदक विजेता हुन् । २२ वर्षीया सोफयाले सन् २०२१ को कराँते विश्व च्याम्पियनसिपमा पनि उनले कांस्य जितेकी थिइन् । गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एरिकाले स्वर्ण जितेकी थिइन् । नेपाल पुलिस क्लबमा आबद्ध एरिकाको त्यो नै राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण थियो । त्यसपछि उनी हाङझाउ एसियाडका लागि प्रारम्भिक छनोटमा परेकी हुन् ।

नेपालले व्यक्तिगत इभेन्ट्समा रजत पदक जितेको यो दोस्रोपटक हो । सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले व्यक्तिगततर्फ पहिलोपटक रजत दिलाएकी थिइन् । पाँच वर्षअघि इन्डोनेसियाको जाकार्तामा भएको १८औँ एसियाडमा प्याराग्लाइडिङले क्रसकन्ट्रीमा दोस्रो स्थान हात पारेको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo