जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिबाट मनसुनमा सुधार आउने जनाएको छ।
आज रातिसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनीसम्म सुधार देखिने र भोलिबाट गण्डकी, बागमती, मधेस हुँदै मौसम खुल्दै जाने उनले बताए।
हाल मनसुनको न्यून चापीय रेखा (जसलाई हामी मौसमको प्रणाली पनि भन्छौं) सरदर स्थानमा अवस्थित रहेको महाशाखाले बताएको छ। यसका अतिरिक्त नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। भारतको सिक्किमलगायत राज्यमा यसैका कारण भारी वर्षा भइरहेको छ।
यो प्रणालीको प्रभाव नेपालमा पनि परेर देशभर झरी परेको हो। ‘आजै रातिबाट मनसुनमा सुधार आउँछ। पश्चिमबाट क्रमशः खुल्दै आएको छ। बागमती हुँदै पूर्व लाग्छ। यो हप्ताभित्र मनसुन बाहिरिने अनुमान गर्न सकिन्छ। यद्यपि हामी अध्ययन गरेर बुलेटिन निकाल्छौं,’ वरिष्ठ मौसमविद् पोखरेलले भने।
बिहीबार गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहेको महाशाखाले बताएको छ।
बिहीबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यत: मौसम सफा रहने प्रक्षेपण गरिएको छ। त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको देखाइएको छ।
शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बाँकी प्रदेशमा आंशिक बदली रहने बताइएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ।
शुक्रबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने अनुमान छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ।