धनगढी,१४ असोज । धनगढीको नवजीवन अस्पतालले पिसिएल नर्सिङ अध्ययन अनुमति प्राप्त गरेको छ । अस्पतालले यसै वर्षदेखि ४० जना विद्यार्थीलाई पिसिएल नर्सिङ अध्ययन गर्ने अनुमति पाएको हो ।
२०६२ सालमा फागुन ११ गते १४ शैयाबाट सञ्चालन भएको अस्पतालले हाल एक सय शैया स्तरोन्नतिबाट सेवा दिँदै आइरहेको छ । अस्पताल निजी लगानीमा सञ्चालन भएता पनि सो अस्पतालले सामाजिक उत्तरदायित्व अनुरूप आफ्नो पहलमा र नेपाल सरकारको सहकार्यमा ठुला र साना गरी ठुला सङ्ख्यामा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको अस्पतालका सिइओ चर्क खडायतले जानकारी दिए ।
अस्पतालले नेपाल सरकारसँग हातेमालो गर्दै अहिले आमा सुरक्षा कार्यक्रम,खोप कार्यक्रम,क्षयरोग बिरामीको निःशुल्क औषधी वितरण स्वास्थ्य बिमा कार्यक्रम समेत सञ्चालनमा ल्याइसकेको छ ।
यस्तै नवजीवन अस्पतालले मार्क इन्टरनेशनल किड्नी सेन्टर र स्वयम अस्पतालको संयुक्त लगानीमा डायलासिस सेवा पनि सञ्चालनमा ल्याइसकेको छ । भने अस्पतालले प्रत्येक दिन वरिष्ठ हार्डजोर्नी तथा नसा रोग,वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ सेवा,वरिष्ठ फिजियोथेरापिष्ट लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
