KhabarUjyalo

प्रधानमन्त्री शेर बहादुर देउवा र पुष्कर नाथ ओझाले गरे एक अर्काको प्रशंसा

२६ बैशाख २०७९, सोमबार
प्रधानमन्त्री शेर बहादुर देउवा र पुष्कर नाथ ओझाले गरे एक अर्काको प्रशंसा

धनगढी, २६ वैशाख ।नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्व राज्य मन्त्री पुष्कर नाथ ओझाले एक अर्काको प्रशंसा गरेका छन् ।

पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएका ओझा र पार्टी सभापति देउवाबिच संवादहीनताको अन्त्यका लागि भएको छलफलका क्रममा दुवै जनाले एक अर्काको प्रशंसा गरेका हुन् ।

ओझाले पार्टी सभापति शेर बहादुर देउवा प्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै उहाँ प्रतिको श्रद्धा कारबाहीपछि पनि यथावत् रहेको बताए ।

‘नेपाली काँग्रेसमा यतिबेला सबै भन्दा राम्रो नेता देउवा हो, उहाँ जत्तिको राम्रो नेता अर्को छैन,’ ओझाले भने, ‘उहाँले नै मलाई साधारण सदस्य नरहने गरी कारबाही गर्नु भएको हो । फेरि पनि उहाँ मेरो श्रद्धेय नेता हो । उहाँ प्रतिको मेरो श्रद्धा र सम्मान अलिकति पनि कम भएको छैन ।’

उहाँले आफू काँग्रेसको विपक्षमा नजाने समेत प्रष्ट पारे । ‘म कहिल्यै काँग्रेसको विपक्षमा जाँदैन । म स्थानीय तहको निर्वाचनमा पनि काँग्रेसको विपक्षमा जाँदैन । ओझाले भने, पार्टीको साधारण सदस्य नरहे पनि पनि म काँग्रेस हो ।’

पार्टी सभापतिले जिम्मेवारी दिए पार्टीमा सक्रिय हुने उहाँको भनाई थियो ।उनले ३० गतेपछि पार्टी सभापति देउवासँग भेटघाट र छलफल गर्ने बताए । उनले भने, ‘उहाँले बोलाएको समय र स्थानमा म उहाँसँग भेटघाट र छलफलका लागि जान तयार छु ।’

पार्टी सभापति देउवाले ओझा काँग्रेसकै सिनियर नेता भएको बताए । ओझा जस्तो क्षमता भएका काँग्रेसका धेरै कम नेता छन्, प्रधानमन्त्री देउवाले भने, ओझा त राष्ट्रिय स्तरको नेता हुन् ।

प्रधानमन्त्री देउवाले प्रजातन्त्र प्राप्तीका लागि नेपाली काँग्रेसले गरेका हरेक आन्दोलनमा ओझाले खेलेको भूमिका प्रशंसनीय भएको बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo