काठमाडौं । आइसीसी टी २० विश्वकप क्रिकेट आइतबारदेखि आरम्भ हुँदा ओमानले जितका साथ प्रतियोगितामा सुखद सुरुवात गरेको छ । ओमानले सुपर टुवेलको छनोट खेलमा पपुवा न्युगिनी पीएनजीमाथि १० विकेटको शानदार जित हात पार्न सफल भएको छ ।
ओमानस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको पीएनजीले २० ओभर नौ विकेट गुमाउँदै एक सय २९ रन बनाएको थियो । जवाफमा घरेलु टोली ओमानले १३ ओभर चार बलमा विना क्षति लक्ष्य पूरा गरेको थियो ।
पीएनजीविरुद्ध प्रारम्भिक व्याट्सम्यान दुबैले अर्धशतकीय योगदान गरेका थिए । जसमा जतिन्दर सिंहले ७३ रन बनाए । उस्ले ४२ बलको सामना गरेर सात चौका र चार छक्काको सहयोगमा उक्त रन निर्माण गरेका थिए । यस्तै अर्का ओपनर अकिब लियासले पनि ५० रनको अर्धशतकीय पारी खेलेर ओमानको जितमा महत्वपूर्ण योगदान दिएका थिए । उनले ४३ बलको सामना गर्दै पाँच चौका र एक छक्काको सहयोगमा अर्धशतक हानेका हुन् ।
यस अघि खराव सुरुवात गरेको पीएनजीले एक अंक पनि नजोड्दै आफ्ना महत्वपूर्ण दुई विकेट खेर फ्यालेको थियो । तेस्रो विकेटका लागि खेल्दै चाल्र्स अमिनी र कप्तान असाद भालाले ८१ रनको साझेदारी गरेर पीएनजीले केही राहत दिएका थिए । यो जितसंग घरेलु टोली ओमानले खेल तालिकामा दुई अंक जोडेको छ ।
