KhabarUjyalo

प्याजलाई आलु भन्ने व्यापारीलाई पाँच लाख जरिवाना

December 29, 2023
प्याजलाई आलु भन्ने व्यापारीलाई पाँच लाख जरिवाना

नेपालगन्ज। नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पाँच लाखभन्दा बढी जरिवाना तिराएको छ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत सुरेशराज जोशीले दिएकाे जानकारी अनुसार भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर आएको ट्रकमा अनुसन्धान गर्दा प्याज ल्याएको पाएपछि कारबाही गरेको बताए।

प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरामा २ हजार ८४० केजी प्याज फेला परेको हुँदा पाँच लाख सैँतिस हजार ३४१ रुपियाँ जरिवाना तिराइएको छ। उनले भारतबाट आएर सुर्खेत जान थालेको यूपी ४० टी ७४७४ नम्बरको तरकारीको सो गाडीलाई सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेको टोलीले नेपालगन्जको चौलिका चेकपोस्टबाट नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा बुझाएको बताए।

सो गाडीमा प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरा प्याज फेला परेकोले सोको जरिवाना बापत लाग्ने रकम पाँच लाख सैँतिस हजार ३४१ रुपियाँ पूजा सब्जी मन्डी वीरेन्द्रनगरले तिरेपछि मात्र गाडी र प्याज दुवै छोडिएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ।

यसअघि पनि मूल्याङ्कन र परिमाण घटाएर सामान भित्राउने केही कन्टेनर र ट्रकमा रहेको सामानको अनुसन्धान गरेर आवश्यक जरिवाना लिएर छाडिएको सो कार्यालयले जनाएको छ। यसअघि भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएको सो ट्रकमा केही बोरा आलु राखेर ठुलो परिमाणमा प्याज भेटिएपछि सशस्त्र प्रहरीले  पुस ८ गते राति नियन्त्रणमा लिएको थियो।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo