KhabarUjyalo

मानव बेचबिखनकाे मुद्दामा समेत मुछिएका ‘गुन्डा नाइके’लाई कांग्रेसले बनायाे मन्त्री

December 26, 2023
मानव बेचबिखनकाे मुद्दामा समेत मुछिएका ‘गुन्डा नाइके’लाई कांग्रेसले बनायाे मन्त्री

बुटवल। सरकारलाई पूर्णता दिन नसकेर आलोचित लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ‘गुन्डा नाइके’ लाई मन्त्री बनाएर थप विवादित बनेका छन् । कांग्रेसभित्र संस्थापनइतरको चित्त बुझाउन नसक्दा सरकारले पूर्णता पाउन सकेको थिएन । लामो रस्साकसीपछि आइतबार दुई मन्त्री नियुक्त भए, माओवादीबाट बाँकेकी कृष्णा केसी र कांग्रेसबाट प्यूठानका रोज राणा भनिने सरोज थापा ।

नवनियुक्त मन्त्रीमध्ये थापा विवादित र आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । उनको छनोटलाई लिएर प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्रै असन्तुष्टि छताछुल्ल भएको छ । सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भइरहेको छ ।

आवरणमा चलचित्र निर्माता र निर्देशक भनेर चिनिए पनि ‘रोज’ गुन्डागर्दीमा सामेल थिए । काठमाडौंका डान्सबारमा युवतीलाई जबर्जस्ती नग्न नृत्य गराएको अभियोगमा समेत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनी ५ पटकसम्म पक्राउ पर्दै छुट्दै गरेको प्रहरी रेकर्ड छ । उनी कहिले गुन्डा नाइकेहरू दिनेश अधिकारी ‘चरी’को निकट पुग्थे त कहिले कुमार श्रेष्ठ ‘घैंटे’को । एकताका प्रहरीले अनुसन्धान बढाएपछि सुजन पौडेल (रमेश बाहुन) र चरीसँगै रोजसमेत भारत पुगेका थिए ।

प्रहरीको अनुसन्धानमा भारत बसाइकै क्रममा यी तीन जनाको सम्बन्ध थप घनिष्ठ भएको थियो । बाहुनलाई नेपाल प्रहरीले भारतीय सुरक्षा अधिकारीसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याएको थियो । रात्रिकालीन व्यवसायका क्रममा रोज अर्का गुन्डा नाइके घैंटेसँग समेत जोडिएका थिए । चरी २०७१ र घैंटे २०७२ मा प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

‘रोज’ माथि २०७३ साउन अन्तिममा काठमाडौंको पुरानो बानेश्वरमा खुकुरी प्रहारको घटना पनि भयो । यसमा संलग्न रहेको आरोपमा विवेचना प्रजापति र सूर्य लामा पक्राउ परे । उनलाई अंगभंग बनाएबापत ३० लाख पाउने लोभमा आक्रमण गरेको उनीहरूले बयान दिएका थिए । संगठित गुन्डा नाइकेका साझेदार रोजले धोका दिएको र पुरानो रिसइबीका कारण आक्रमण भएको त्यसबेला प्रहरीले विश्लेषण गरेको थियो ।

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले थापा (रोज राणा) आपराधिक पृष्ठभूमिका व्यक्ति भएको बताउँदै आफू हनुमानढोका कार्यालयमा प्रमुख छँदा उनीविरुद्ध मानव बेचबिखनमा मुद्दा चलाइएको बताए । राजनीतिमा कसैले जीवन नै समर्पित गरिहने तर केही आपराधिक व्यक्ति मिसिने प्रवृत्तिले समस्या भइरहेको उनको भनाइ छ । ‘राजनीति र अपराध एकै ठाउँमा मिसिँदा को अपराधी को राजनीतिककर्मी छुट्याउनै गाह्रो हुने अवस्था आयो,’ उनले भने ।

कांग्रेसको संस्थापनइतर पक्षले पाल्पाका बीरबहादुर रानालाई मन्त्री बनाउन दबाब दिएको थियो । संस्थापन पक्षले थापालाई मन्त्री बनाउने अडान लिएर पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार लम्बिएको थियो । पार्टीको प्रदेश समितिमा छलफल र जानकारी समेत नगराई विवादित पृष्ठभूमिका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भन्दै कांग्रेसका अधिकांश प्रदेशसभा सदस्य असन्तुष्ट छन् । मुख्यमन्त्री चौधरीले सरकारको नेतृत्व गरेको झन्डै आठ महिनापछि आइतबार तेस्रो पटक सरकार विस्तार गरेका हुन् ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo