धनगढी : धनगढीमा माघ २२ गतेदेखि विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल) हुने भएको छ । विद्यालयस्तरको क्रिकेटलाई राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा जुटेको लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सले पत्रकार सम्मेलन गरी क्रिकेट प्रतियोगिताको मिति घोष्णा गरेको हो ।
माघ २२ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन ७ गते समापन हुनेछ । २०७३ सालदेखि हरेक बर्ष आयोजना हुदैं आएको प्रतियोगिताको छैठौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालयको सहभागिता रहने छ ।
‘प्रतियोगितामा विगतका बर्षहरुमा १६ टीमहरुको सहभागीता रहदै आएकोमा यस बर्षदेखि प्रतियोगिताको स्तरलाई थप उच्च बनाउन र सहभागी विद्यालयहरुलाई उच्चतम अवसर प्रदान गर्न १० टीमहरुलाई सहभागी गराईएको छ ।’ उनले भने, ‘सहभागी टीमहरुलाई दुई समुहमा विभाजन गरिनेछ । यसरी विभाजन गर्दा एउटा विद्यालय टीमले ४ वटा लिग चरणकै खेल खेल्न पाउनेछन् ।’
प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाईनेछ । प्रतियोगितामा सहभागीता जनाउने विद्यालयहरु पनि पक्का भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । सहभागी विद्यालयहरुमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्या भुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् ।
त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वल्र्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् । लिग कम नकआउट फरम्याटमा खेलाईने प्रतियोगिताको विजेता नगद एक लाख ५० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ ।
उपविजेताले नगद ७५ हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने भएको छ ।
