काठमाडौं – राजतन्त्र पुनःस्थापनाका लागि भन्दै मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रर्दशन रत्नपार्कमा हुने भएको छ ।
सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि प्रसाईंको कार्यक्रम रत्नपार्कमा हुन लागेको हो ।
सो दिन काठमाडौंमा ५० हजार मानिस उर्ताने प्रसाईंले दाबी गरेका छन् । व्यवस्था परिवर्तन चाहने देशैभरका नागरिक आजैदेखि काठमाडौंमा भेला हुन लागेको उनको भनाइ छ ।
प्रसाईंले मंसिर ७ देखि सुरु हुने आन्दोलन व्यवस्था परिवर्तन नहुञ्जेल जारी रहने बताए । खबरहबसँगको कुराकानीमा माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्ने प्रशासन कार्यालयको निर्णय स्वागतयोग्य भन्दै उनले भने ‘गोबिन्द केसी, माधव नेपाल, प्रचण्डहरु हामी यहाँ छौं भन्दै बसेको ठाउँ भएकाले मलाई त्यहाँ जान मन पनि छैन ।’
मंसिर ७ गते प्रसाई र नेकपा एमालेको भातृ संगठन युवा संघको कार्यक्रम जुधेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।
माइतीघरमा कार्यक्रम गर्न नपाउने भएपछि युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने जनाएको छ । प्रसाईंको कार्यक्रम लक्षित युवासंघको प्रदर्शनलाई एमालेले आफ्नो शक्ति प्रदर्शनीको रुपमा लिएको छ ।