KhabarUjyalo

स्वास्थ्य सामग्रीसहित सुदूरपश्चिम प्रदेशको चिकित्सक टोली भुकम्प प्रभावित क्षेत्रमा खटियो

१९ कार्तिक २०८०, आईतवार
स्वास्थ्य सामग्रीसहित सुदूरपश्चिम प्रदेशको चिकित्सक टोली भुकम्प प्रभावित क्षेत्रमा खटियो

सुदूरपश्चिम, १९ कात्तिक । सुदूरपश्चिम प्रदेशले चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली स्वास्थ्य सामग्रीसहित जाजरकोट र रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ ।

भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार रू एक करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्कर्मीको टोली खटाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आज बिहान सुर्खेत पुगेर टोलीले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका विपद् सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए ।उनका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डा शिवराज पनेरुको नेतृत्वमा चार सदस्य स्वास्थ्कर्मीको टोली खटिएको छ ।

“आज कर्णाली पुगेर मन्त्रीलाई रू साढे तीन लाख बढीको औषधि र विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण ग¥यौँ” जोशीले भने, “प्रभावित क्षेत्रमा खटिनका लागि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय भइरहेको छ ।”

डा पनेरु नेतृत्वको चार सदस्य टोलीमा निर्देशनालयका पिपद् सम्र्पक व्यक्ति जोशी, केटा मेडिकल कलेजका डा गणेश फुलारा र स्वास्थ्य कार्यालय धनगढीका मीनबहादुर धामी छन । आवश्यकता अनुसार प्रदेशबाट थप स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिने छ”, जोशीले भने, “पहिलो चरणमा हामी खटिएका छौँ ।”

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका एक सय ५७ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo