काठमाडौं । टी-ट्वान्ट्वी विश्वकपमा छनोटका लागि निर्णायक खेलमा आज नेपालले यूएईको सामना गर्दै छ। यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।
हिजाे ओमानसँग भएकाे खेलमा ५ रनले पराजित भएपछि समूहको उप विजेता बन्दै सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो। दुबै देशको टोलीबीचको खेल मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान ११ बजे शुरु हुनेछ । नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर आएको छ।
सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को २०२४ मा हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ। छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले शुक्रबारको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण हुनेछ।
नेपालले समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित हुन पुगेको थियो । ओमानसँग पराजित बनेपछि नेपालले एसोसियट राष्ट्र मध्य बलियो मानिएको यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।
अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुई खेल जितेको थियो । नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गरेको थियो ।
फाइनलमा भने नेपालमाथि युएईले ४ विकेटको जित निकालेको थियो।