धनगढी : कैलालीको गेटामा गेटा अस्पताल आजबाट संचालनमा आएको छ ।
सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी विभिन्न सेवासहित अस्पताल सञ्चालन आएको हो ।
अस्पतालमा आजबाट जनरल ओपिडी, हाडजोर्नी तथा नशारोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी ओपिडी, अल्ट्रासाउण्ड सेवा, एक्स-रे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा उपलब्ध रहेका छन् ।
पहिलोदिन मंगलबार १८ जनाले सेवा लिएको अस्पताल निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए । जसमध्ये १४ जना पुरुष र ४ महिलाले सेवा लिएका छन् ।
गेटा अस्पताल संचालनमा आएपछि सुदूरपश्चिमवासीमा खुसी छाएको छ ।
अस्पतालले कार्तिक महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा बिस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसियू र एनआइसियू सेवा बिस्तार गर्ने जनाएको छ।
अहिले अस्पताल एक सय बेड बिस्तार गरिएको क्रमिक रुपमा बेड संख्यासंगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्ने गरी काम अघि बढाउने अस्पतालले जनाएको छ।
गेटा अस्पतालमा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत २६ जना जनशक्ति हाजिरी भइसकेका छन्।