काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र पाकिस्तान खेल्दैछन् । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतले टस जितेर फिल्डिङ रोजेको छ । अब पाकिस्तानले पहिले ब्याटिङ गर्दैछ ।
भारत र पाकिस्तानबीच हुने खेललाई निक्कै महत्त्वका साथ हेरिन्छ । भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् । भारतले अष्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो । त्यस्तै पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलंकालाई ६ विकेटले हराएको थियो । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्नेछन् ।
भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । यी दुई देशबीच विश्वकपमा ७ खेल भएका छन् । तर पाकिस्तानले टी–२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ । सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टी–२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान १ खेलमा मात्रै विजयी भएको छ ।
