KhabarUjyalo

दसैँमा छुटका नाममा लुट !

October 13, 2023
दसैँमा छुटका नाममा लुट !

काठमाडौं।दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन्। त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ।

सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन्। छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भिड छ। दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदाखानेको पनि भएकाले सबै वर्गका नागरिकको बजारमा भिड लाग्छ।

लत्ताकपडा र जुत्ताचप्पललगायतका सामान बिक्री गर्ने व्यापारी चाडपर्वमा सबै वर्गका व्यक्तिले आफ्ना परिवार वा छोराछोरीका लागि नयाँ कपडा र जुत्ता किन्ने चलन पहिलेदेखि नै भएकाले त्यस्ता वर्गलाई केही राहत पुगोस् भनेर छुटको व्यवस्था गरेको दाबी गर्छन्।

असन चोकको कुर्र्ता, टप्स, सारी पसलमा काम गर्ने एक कर्मचारीले नाम नभन्ने सर्तमा भने, “दसैँअगाडि एक हजारमा बिक्री गर्दै आएको कुर्ता अहिले प्रतिपिस आठ सय रुपियाँ बढाई एक हजार आठ सय रुपियाँ पुर्याएर प्रतिपिस २० प्रतिशत छुट भनिएको छ। यो मात्रै होइन, सारी, टप्स र वान पिस पनि त्यस्तै छ ।”

“बालबालिकाका कपडामा त अझ पहिलेभन्दा दोब्बरभन्दा बढी मूल्य वृद्धि गरिएको छ। ती सामान ‘फिक्स’ मूल्य भनेर सेलमा राखिएको छ, उपभोक्ता भने सेल भनेपछि फ्री पाए जस्तै गरी भिड लागेर पानी पिउन पनि पाइँदैन,” उनले थपे  ‘यस्तै कालीमाटी रोडमा जुत्ताचप्पल पसलमा काम गर्ने विनोद न्यौपानेले सकेसम्म सेल भनेर बिक्रीमा राखेको पसलमा सामान नकिन्न सल्लाह दिए। उनले भने, “सेल भनेका ठाउँमा धेरै ठुलो खेल हुन्छ । त्यसमा उपभोक्ता सचेत हुनु पर्छ कि गुणस्तरमा समस्या हुन्छ, मूल्यमा गडबड, त्यसैले सकेसम्म त्यस्तोमा सचेत हुनु पर्छ ।”

भृकुटीमण्डपमा राखिएको जुत्ताचप्पलको छुट मेलामा छोराछोरीसहित उत्साहित भएर जुत्ता किन्न आएकी लता अधिकारी जुत्तै नकिनी निराश भएर निस्किइन्। मेलामा छुटमा जुत्ता पाइन्छ भन्ने समाचार सुनेर आएकी उनले आक्रोशित हुँदै भनिन्, “जुत्ता मेलामा के को छु्ट हुनु ? छुटका नाममा लुट रहेछ नि, न राम्रो छ न सस्तो। बजारमा सजिलै एक हजार दुई रुपियाँमा पाइने जुत्ता यहाँ दुई हजार पाँच सय रुपियाँ तोकेर २० प्रतिशत छुट भनेर झुक्याइएको छ।”

उपभोक्ता अधिकारकर्मीले चाडपर्वका बेलामा बजारमा छुट र सेलका नाममा सीमित व्यापारीले लुट मच्चाउँदासमेत सरकारका नियमनकारी निकाय रमिते बनेको आरोप लगाएका छन्। उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसेनाले चाडपर्वका बेलामा यस पटक मात्रै होइन, हरेक वर्ष सेल र छुट नाममा साना पसलदेखि ठुला महलसम्मका व्यापारीले आमउपभोक्तामा भ्रम सिर्जना गरेर ठुलो परिणाममा ठगी हुने गरेको बताए। उनले भने, “छुट र सेलका नाममा कति लुट हुन्छ भन्ने कुरा त चार वर्ष अगाडि दरबारमार्ग र न्युरोडको जुत्ता कपडा पसलले गरेको कामले पुष्टि हुन्छ ।”

सरकारका नियमानकारी निकायले मूल्य र गुणस्तरको अनुगमन गर्न नसक्दाको परिणाम भएको तिम्लिसेनाको भनाइ छ। अनुगमन त खाली सानो लगानी गर्ने पसललाई अनुगमन गरेर उपभोक्तालाई झुक्याउने काम मात्रै भएको आरोप उनले लगाए। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo