काठमाडौं । नेपाली र्यापर भिटेन (समिर घिसिङ) ले आफ्नो युट्युब च्यानलबाट सबै भिडिओ हटाएका छन् । पछिल्लो समय विभिन्न आलोचना खेपिरहेका भिटेन मंगलबारदेखि सामाजिक सञ्जालबाट गायब छन् ।
उनको आधिकारिक युट्युब च्यानल ‘भिटेन म्युजिक’ मा अहिले एउटा भिडिओमात्र छ । अन्य भिडिओ हटाइएका हुन् वा हाइड गरिएको हो भन्ने विषयमा कुनै आधिकारिक जानकारी बाहिर आएको छैन । गत साता जापानमा उनले कन्सर्टमा गरेको हर्कतले गर्दा सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो ।
उक्त कन्सर्टमा बियरको बोतलले आफ्नो टाउकोमा हान्दै अब कहिल्यै कन्सर्ट नगर्ने बताएका थिए । असोज २४ गते जापानमा भएको उक्त कन्सर्टको हर्कतपछि उनलाई मानसिक रोगी भएको भन्दै आलोचना गरिएको थियो । साेही आलोचनाका कारण उनी सामाजिक सञ्जालबाट गायब भएको हुनसक्ने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय टुरमा रहेका भिटेन अहिले कहाँ के गर्दै छन् भन्ने कुराको कुनै जानकारीसमेत छैन । १७ लाख बढी सब्स्क्राइबर भएको उनको आधिकारिक युट्युब च्यानलमा हाल १३ दिनअघि सार्वजनिक भएको उनको ‘आफ्नै बाटो’ नामको गीतमात्र रहेको छ ।
