काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाललाई सफलता मिलेको छ । गएराति मालेस्थित राष्ट्रिय रंगशालमा भएको खेलमा आयोजक माल्दिभ्सलाई नेपालले १-० ले पराजित गरेको हो । नेपालका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष डाँगीले सानदार गोल गरे ।
काउन्टर अट्याकमा विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई मनिषले खेरा फालेनन् । बिपक्षीको घेराबीच गोल अघि बढाउदै उनले गोल गर्न सफल भएका थिए ।
उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए । जुन गोल नै नेपालको जीतका लागि पर्याप्त बन्यो । खेलको ६९ औं मिनेटमा नवयुगको स्थानमा मनिष डाँगी मैदान प्रवेश गरेका थिए । त्यस्तै ८२ औं मिनेटमा अन्जन विष्ट र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई मैदान प्रवेश गराइएको थियो ।
पूरै खेलमा धेरैजसो समय बल माल्दिभ्सको पक्कडमा रहेतापनि नेपालबिरुद्ध गोल गर्न भने सकेको थिएन । माल्दिभ्सको धेरैजसो प्रयासहरु नेपालका गोलकिपर किरण चेम्जोङले विफल पारिदिएका थिए ।
खेलको छैटौं मिनेटमा नै माल्दिभ्सले नेपालका लागि गोल गर्ने राम्रो अवसर पाएको थियो । तर गोलकिपर किरणले त्यसलाई सहजै विफल बनाइ दिएका थिए ।
नेपालका लागि पनि खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठले लामा दुरीबाट विपक्षीको पोलमा प्रहार गरेका थिए । तर उनको फितलो प्रहारलाई गोलरक्षक मोहमद फैसलले सहजै क्याच गरेका थिए ।
त्यसको १ मिनेटपनि पुन: नेपालले गोल गर्ने अर्को अवसर पाएको थियो । नवयुग श्रेष्ठको पासमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा बललाई राम्रो सदुपयोग गर्न सकेनन् ।
त्यसपछि खेलको माल्दिप्सका लागि गोल गर्ने अर्को सुन्दर अवसर थियो । तर सफल भएन । अली फसिरले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्ने अवसर पाएका थिए । उक्त प्रहारलाई गोलरक्षक किरणले सहजै बचाए ।
खेलको २३ औं नेपाललाई अवसर थियो । तर २३ औं मिनेटमा अन्जन विष्टको क्रसमा नवयुग श्रेष्ठले गरेको हेडर गोलरक्षक फैसलले विफल गरेका थिए ।
त्यसको केही मिनेटमै नेपालबिरुद्ध माल्दिभ्सले अवसर बनायो । तर असफल भएको थियो । नेपालको पेनाल्टी क्षेत्रभित्र माल्दिभ्सका तीन खेलाडीले एक आपसमा पास खेल्दै मुभ सिर्जना गरेपनि अन्तिम प्रहार भएन ।
२८ औं र ३३ औं मिनेटमा अली अश्फाकले गरेको आक्रमक प्रहार किरणले सहजै बचाए । दोस्रो हाफपछि नेपालका लागि तेज तामाङले लामो दुरीबाट प्रहार गरेको गोल फैसलले सहजै बचाएका थिए ।
५६ औं मिनेटमा पनि नेपालले गोलको प्रयास गरेको थियो । तर सफल हुन सकेनन् अन्जन विष्ट । ५९ औं मिनेटमा माल्दिभ्सको उत्कृष्ट प्रहारलाई कप्तान किरण चेम्जोङले बचाउ गरे ।
६५ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार सिधै किपरले जोगाए । उनको प्रहार फितलो थियो । ७६ औं मिनेटमा माल्दिभ्सको पुन आकर्षक प्रहार गर्यो । तर किरणले त्यसलाई विफल बनाए ।
किरणले सेभ गर्दा रिवाउढड भएको बललाई माल्दिभ्सले सदुपयोग गर्न सकेन र बल पोलभन्दा माथिबाट आउट हुन पुग्यो । त्यसपछि नेपालका २ खेलाडि क्रमस परिवर्तन गरिएको थियो । त्यसपछि मनिष डाँगीले ८६ औं मिनेटमा गरेको गोल नै नेपाललाई जीतको लागि पर्याप्त बन्यो । पहिलो खेलमा जीत निकालेसँगै नेपालले ३ अंक जोडेको छ ।
माल्दिभ्स २०१८ को साफ च्याम्पियनसमेत हो । नेपाल उक्त सिजनको साफमा माल्दिभ्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । उक्त समय नेपालले माल्दिभ्ससँग ३-० ले पराजित भएको थियो ।
साफमा नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २-१ ले हराएको थियो । त्यसयता भने लगातार हार बेहोरेको नेपालले यो संस्करणमा माल्दिभ्सबिरुद्ध जीत निकालेको हो ।
अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार खेल्नेछ । तेस्रो खेल अक्टोबर १० अर्थात असोज २४ मा भारतसँग खेल्नेछ । त्यस्तै लिग चरणको अन्तिम खेलमा असोज २७ अर्थात अक्टोबर १३ मा बंगलादेशसँग खेल्नेछ ।