KhabarUjyalo

अनशनरत डा. केसीको समर्थनमा आज माइतीघरमा प्रदर्शन हुने

८ आश्विन २०७९, शनिबार
अनशनरत डा. केसीको समर्थनमा आज माइतीघरमा प्रदर्शन हुने

काठमाडौँ – २०औँ पटकको आमरण अनशनमा रहेका डा.  गोविन्द केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको छ।

बृहत् नागरिक आन्दोलनले शुक्रबार एक वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न सरकारलाई आग्रहसमेत गरेको छ।

सरकारसँग अब गरिने सहमति विगतको जस्तो (प्रतिबद्धता जाहेर गरेर कार्यान्वयन नगर्ने) सम्झौतामा नटुङ्गियोस् भन्दै नागरिक आन्दोलनले काठमाडौँको माइतीघर मण्डलामा  प्रदर्शन गर्न लागेको हो।

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्नेसहित थप सात बुँदे माग गर्दै डा केसी अनसन बसेका डा केसीको आज १३‍‍औँ दिन हो।

कैलालीको धनगढीबाट अनशन सुरु गरेका केसी स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार काठमाडौँ आएका थिए। हाल उनी टिचिङ अस्पतालमै अनसनरत छन् ।

डाक्टरहरूको प्रत्यक्ष निगरानी रहे पनि अनशनमै रहेका डा केसीले उपचार सेवा लिन मानेका छैनन्। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएका छन्।

सरकारी वार्ता औपचारिकतामै सीमित
डा केसीसँग १९औँ अनसनसम्म पटक-पटक सम्झौता गरेर कार्यान्वयन नगरेको सरकारले यस पटक पनि दिनहुँ जसो वार्ता गरिरहेको छ।

वार्ता टोली गठन भएको एक साता बितिसक्दासमेत कुनै निचोड निस्कन सकेको छैन। धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको राजीनामाको विषयमा राजनीतिक सहमति जुटाउनुपर्ने भएकाले निष्कर्षमा पुग्न नसकिएको सरकारी वार्ता टोलीका सदस्य रोशन पोखरेलले जानकारी दिए।

तर सरकार स्वास्थ्य क्षेत्र सुधारका लागि तयार नभएकाले विभिन्न बहानामा वार्तालाई सार्थक बनाउन नचाहेको अनसनरत डा केसीका सहयोगी प्रितम केसीको बुझाई छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo