KhabarUjyalo

डडेल्धुरा सदरमुकामको सडक चौडा पार्न मुआब्जाका लागि सरकारले पठायो २० करोड !

२९ भाद्र २०७९, बुधबार
डडेल्धुरा सदरमुकामको सडक चौडा पार्न मुआब्जाका लागि सरकारले पठायो २० करोड !

डडेल्धुरा । डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढ्ने भएको छ। अर्थ मन्त्रालयले सडक क्षेत्रमा पर्ने भौतिक संरचनाको मुआब्जा वितरण गर्न पहिलो चरणमा २० करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई उपलब्ध गराउने निर्णय गरेसंगै जिल्ला सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढ्ने भएको हो।

मन्त्रालयले बुधबार महालेखा परीक्षकको कार्यालयलाई पत्र लेख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रकमान्तर गर्ने निर्णयलाई स्वीकृ गर्दै कार्यान्वयन गर्न अनुरोध गरेको हो। यसअघि अर्थ मन्त्रालयले २० करोडको स्रोत सहमति दिएकोमा आज भने २० करोड रकमान्तर गर्दै कार्यान्वयनका लागि महालेखालाई आग्रह गरेको हो।


भदौ २६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरीय बैठकले रेल विभागका लागि विनियोजन गरिएको बजेट डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिका लागि मुआब्जा वितरण गर्न रकमान्तर गर्ने निर्णय गरेको थियो। उक्त निर्णय गर्दै भौतिक पूर्वाधार मन्त्रालयले अर्थ मन्त्रालयलाई पहिलो चरणमा २० करोड रकमान्तर गर्न आग्रह गरेको थियो। सोही निर्णयलाई टेक्दै अर्थ मन्त्रालयले आज २० करोड रकमान्तर गरी महालेखालाई कार्यान्वयनका लागि अनुरोध गरेको हो।

सडक डिभिजन कार्यालय कुलपाते डोटीका इन्जिनियर योगेन्द्र अधिकारीले रकमान्तरको निर्णयसंगै सडक स्तरोन्नतिको काम अगाडि बढ्ने बताए। ‘अहिले २० करोड बजेट आएको छ,’ उनले भने, ‘मुआब्जाको बाँकी ६५ करोड भने चालू आर्थिक वर्षकै तेस्रो चौमासिकमा माग गर्न पत्राचार गरिएको छ।’ मुआब्जाका लागि ८५ करोड ६५ लाख बजेट आवश्यक पर्नेछ।


यसअघि डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुर सम्मको सडक फराकिलो बनाउनका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले ४४ करोडको स्रोत सहमति पाइसकेको छ। कार्यालयले दुई पटक टेण्डर आह्वान पनि गरेको थियो। दायाँबायाँ १५/१५ मिटर फराकिलो पार्नका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजित गर्दै पहिलोपटक ०७७ जेठ ८ गते बोलपत्र आह्वान गरेको थियो।

मुआब्जासम्बन्धी विवादका कारण उक्त बोलपत्र भदौ ३ गते स्थगित भएको थियो। पहिलोपटक स्थगित गरिएको टेन्डर पुनः आह्वान गरिए पनि असोज तेस्रो साता फेरि प्राविधिक कारण देखाउँदै डिभिजन सडक कार्यालय कुलपाते डोटीले स्थगित गरेको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo