धनगढी- सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुँदैछन्।
शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए।
आज नेपाली कांग्रेस र नेकपा एमालेकाे समर्थनमा कांग्रेसका कमलबहादुर शाहकाे मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएकाे छ।
सुदूरपश्चिमको नेतृत्व कांग्रेसले पाउने भएदेखि नै कमलबहादुर शाह, पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले मुख्यमन्त्रीको आकांक्षा देखाएका थिए।
संसदीय दल नेता समेत रहेका शाहलाई नै मुख्यमन्त्री बनाउन देउवाले निर्देशन दिएपछि बाँकी आकांक्षीहरू सहमत भएको कांग्रेसका एक सांसदले जानकारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्रीलाई बहुमत पुर्याउन २७ सांसद आवश्यक पर्छ। कांग्रेसका १८ र एमालेका ११ सांसद छन्।