KhabarUjyalo

राष्ट्रव्यापी खुल्ला गजल प्रतियोगितामा डोटीका समीर ओझा प्रथम, नगद ४० हजार पाउने

२६ श्रावण २०७९, बिहीबार
राष्ट्रव्यापी खुल्ला गजल प्रतियोगितामा डोटीका समीर ओझा प्रथम, नगद ४० हजार पाउने

धनगढी – राष्ट्रव्यापी खुल्ला गजल प्रतियोगितामा डोटीका समीर ओझा प्रथम भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चसँगको सहकार्यमा आयोजना गरेको नेपाली गजल प्रतियोगितामा ओझा प्रथम भएका हुन् ।

यस्तै खोटाङका विक्रम चेतनशील राई द्वितीय भएका छन् भने कास्कीका संयोग बस्याल तृतीय तथा झापाकी सरु आचार्य सान्त्वना भएका छन् । उनीलाई भोलिअन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रमकाबिच प्रथमलाई ४० हजार, द्वितिय ३०, तृतीय २० र सान्त्वनालाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गजलबाचनसहित प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको हो । प्रतियोगिताका लागि २४१ वटा रचना प्राप्त भएका, तीमध्ये ७१ वटा दोहोरिएका÷मापदण्डभित्र नपरेका र बाँकी १७० वटाबाट ३० प्रतिशत हुनेगरी ५१ वटा रचना बाचनका लागि छनोट गरिएका थिए ।

गजल प्रतियोगितामा प्रथम भएको समीर ओझाको गजल ।-
बोकेर जोस नौलो पत्थर पगाल्ने मान्छे
खोज्दैछ देश मेरो लाभा निकाल्ने मान्छे

होला अँध्यारो फेरि पहिले भएको जस्तै
निस्किन्छ फेरि उस्तै अङ्गार बाल्ने मान्छे

तातो हुनेछ चुल्हो बोकेर आस यत्ति
मर्दैछ दसगजामा झण्डा उचाल्ने मान्छे

दुनियाँ नियाल्ने मान्छे अर्काको दोष देख्छ
अस्तित्व बुझ्छ आफ्नो ऐना नियाल्ने मान्छे

जसले निकाल्छ आँसु, रोएर नै सकिन्छ
धर्ती सिँचेर जान्छ पसिना निकाल्ने मान्छे

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo