KhabarUjyalo

ठेकेदार भिम साउँदलाई कारबाही गर्ने विप्लवको चेतावनी

२५ श्रावण २०७९, बुधबार
ठेकेदार भिम साउँदलाई कारबाही गर्ने विप्लवको चेतावनी

दार्चुला । राजेन्द्र निर्माण सेवा डडेल्धुराका संचालक भिम बहादुर साउँदलाई कारबाही गर्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले चेतावनी दिएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ मा पर्ने श्रीबगर तपोवनस्थित महाकाली नदी किनारमा निर्माणाधिन पक्की तटबन्धको काम समयमै सम्पन्न नगरेको भन्दै ठेकेदार साउँदलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

महाकाली नदी र निजाङ खोलाले सो क्षेत्रको बस्ती निरन्तर कटान गरेर स्थानियको उठिबास भइरहेका बेला राज्य र पक्की तटबन्ध निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका संचालक भिम साउँद मुखदर्शक बनेको भन्दै विप्लव नेतृत्वको पार्टीले कारबाही गर्ने चेतावनी सहित विज्ञप्ती जारी गरेको छ ।

चार वर्ष पहिले सो क्षेत्रमा पक्की तटबन्ध निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाले त्याहाका स्थानियले अनुभुति गर्ने किसिमले काम नगरेको भन्दै पार्टीका कार्यकर्ताहरुले महाकाली नदि नियन्त्रण आयोजनाको कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

कारबाहीको पहिलो चरण अन्तरगत आयोजनाको कार्यालय गल्फै स्थित मुल ढोकामा ताला लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दार्चुलाका सचिव भरत मल्लले जानकारी दिनुभयो । पार्टीले अनिश्चितकालीन तालाबन्दी गरेको भए पनि तालाबन्दी गरेको २०–२५ मिनेट पछि प्रहरीले ताला तोडेपछि कार्यालय पुनः संचालनमा आएको आयोजनाले जनाएको छ ।

आयोजनाको ढोकामा विप्लवका कार्यकर्ताहरुले दिउसो १२ः५० मा तालाबन्दी गरेको बताइएको छ । तपोवन क्षेत्रमा अहिले पक्की तटबन्ध निर्माणको कार्य पुर्णरुपमा बन्द छ । महाकाली नदीमा पानीको सतह बढेका कारण काम बन्द भएको आयोजनाले जनाएको छ ।

२०७५ सालमा तिन वर्षमा पक्की तटबन्ध निर्माण सम्पन्न गर्नेगरी डडेल्धुराको राजेन्द्र निर्माण सेवा संग सम्झौता भएको थियो । तिन वर्ष भित्रै निर्माण सम्पन्न गर्नुपर्ने पक्की तटबन्धको काम विभिन्न कारण देखाउदै रोकीएको थियो । कोरोनाको पहिलो लहर र दोस्रो लहर चलेका बेला संक्रमण फैलिने भन्दै सरकारले नै काम बन्द गराएको थियो ।

लगातार दुई वर्ष सम्म कुनै पनि निर्माणको काम हुन नसकेको उक्त प्याकेजमा पछिल्लो साइडमा कटक राख्ने मात्रै काम भएको पाइएको छ । निर्माणको काम भइरहेकै बेला इन्धनको मुल्य बृद्धि भएपछि विभागले नै अहिले फेरी एक वर्षको म्याद थप गरिदिएको छ ।

सो क्षेत्रका स्थानियले बेला–बेला आफुहरुको बास र गास जोगाइदिन स्थानिय प्रशासन र सम्बन्धित निर्माण कम्पनीका संचालक संग आग्रह गर्दै आइरहेका छन् । यता महाकाली नदि नियन्त्रण आयोजनाका अनुसार उक्त क्षेत्रको भौतिक प्रगती ५५ प्रतिशत र ३० प्रतिशत आर्थिक प्रगती भएको छ । सो क्षेत्रमा पक्की तटबन्ध निर्माणका लागि ११ करोड ५५ लाख ४४ हजार ६८ रुपैया छुट्याइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo