काठमाडौं : विवेकशील साझा अन्तर्राष्ट्रियको आयोजनामा “साझा संवाद” कार्यक्रमको पन्ध्रौँ शृङ्खलामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महाबीर पुन सँग “आविष्कार र मौलिक प्रविधिमा आधारित विकास र समृद्ध नेपालको परिकल्पना”बिषयमा सहजकर्ता हाल स्विडेन निवासी जनस्वास्थ्यविद् र सोधकर्ता दिप थापाले गरेको संवाद-
महाबीर पुन दाइले आफूलाई दिइएको शीर्षक आविष्कार र मौलिक प्रविधिद्वारा समृद्ध नेपालको परिकल्पनाको बारेमा सुरुवाती धारणा यस प्रकार राखे। आज युवा जागरूक छन् सबैलाई देशको स्थिति थाहा नै छ। मेरो अनुभवको आधारमा हेर्दा देशलाई समृद्ध बनाउने बारेमा हामी दसकौँ अल्झियौँ। सात सालसम्म निरङ्कुश राणा शासनले देश बदलिएन। राणा फालेपछि सत्तरी वर्षमा अर्थव्यवस्था आए , पञ्चायत, बहुदल आए हुँदै गणतन्त्र , लोकतन्त्र आयो। सबैले अब हामी देश उकास्छौँ भने। व्यवस्था बदलियो अवस्था बदलिएन।
कतिले राजनीति बिग्रिएर देश बिग्रियो भन्छन् तर अब राजनीति सुधार्ने कि अर्थतन्त्र भन्ने प्रश्न अण्डा पहिले कि चल्ला भनेजस्तो हो। आर्थिक स्थिति नसुध्रिँदा सम्म भाँडभैलो चली रहन्छ । व्यवस्था बदल्न आजका सबै शीर्ष नेताहरूले जेलनेल गरेका नै हुन्। भूमिगत रहेर दुख पनि गरेका हुन्। अहिले आन्दोलन ताकाका समृद्धिका नारा बिर्सिए र भ्रष्ट भए। आन्दोलन भयो अब आर्थिक उन्नति गर्न डेडीकेशन हुनु पर्यो। उद्यमी उत्पादनमा समय र स्रोत परिचालन गर्नुपर्यो। समृद्ध बनाउन इनोभेसन हुनु पर्यो। आर्थिक अवस्था सुध्रिए भ्रष्टाचार पनि कम हुन्छ। तर अर्थतन्त्र कसरी उद्वेलित हुन्छ त ?
सोध, अनुसन्धान र उद्यमशीलताले! तर व्यापार गर्नु मात्रै उद्यम हैन। आयातको ट्रेडिग मात्रै हैन देशमै उत्पादन हुनुपर्यो ।
नेपाल सरकार अर्थ मन्त्रालय को साइटबाट लिएको तथ्याङ्क उद्धृत गर्दै महावीरले थपे गत वर्ष नेपालले १३ खर्ब (९४ %) आयात र १ खर्ब निर्यात (५ % ) गर्यो। गत वर्ष मात्रै नेपालले ४४ करोडको हेयर डाइ , १ अर्बको शेम्पू , डेढ अर्बको डाइपर, २४ करोडको तास , १६ करोडको ब्याड मेन्टन र्याकेट आयात गर्यो। काइँयो पनि देशमा उत्पादन भएन। गुन्द्रुक पनि चीनबाट आउँछ। तीन खर्ब जतिको खाद्यान्न आयो। यस्तो व्यापार घाटाले कसरी देश समृद्ध बन्छ ?
अब देशमै सस्तो, राम्रो के बनाउन सकिन्छ सोच्नु पर्यो। ठुला कुरा छोडौँ साबुन, पेस्ट , दाँत कोट्याउने सिन्का बनाउन सकिन्न र ? तास त बनाउन सक्नु पर्यो। तपाईँहरू यसमा रिसर्च गर्नुहोस्। के कच्चा पदार्थ ल्याउने , कसरी बनाउने। अप्लाएड रिसर्च गर्नुहोस्। यो खोज गर्न , तास , साबुन बनाउन पिएचडी चाहिन्न। उद्यमशील माइन्ड सेट हुनुपर्यो ट्रेड डेफिसिट कसरी घटाउने ? ठुलो नसके पनि सानो गर्ने बानी बसाल्नु। ठुलो सोच सँगै सानो नेपालमै गर्न सकिने सोच्नुहोस्। युवा उद्यमी भए आफैँ रोजगारी सिर्जना हुन्छ। रोजगारी घाँस उखेल्ने खालको हैन उत्पादन मुखी , आयात घटाउने हुनु पर्यो। पैसा देशमै रह्यो भने अझैँ उद्यम हुन्छ। राजनीति सँगै व्यापार घाटा घटाउन उत्पादन गर्न रिसर्च , इनोभेसन गर्ने वातावरण बनाउनु पर्यो। विकसित देशहरू सबै रिसर्च र इनोभेसनमा ध्यान नदिएर कुनै देश विकास हुन्न। प्रतिभा पलायन मात्रै हुन्छ।
प्रारम्भिक विचार पछि साझा संवाद श्रोता प्रश्नोत्तर तर्फ सहजकर्ता दिप थापाले दाइलाई आविष्कार केन्द्र खोल्ने यात्रामा सरकारको सहयोग कत्तिको मिल्यो भन्ने प्रश्नमा दाइले भने, “मैले सरकारहरूलाई रिसर्च र इनोभेसनको संस्कार बसाई देशका युवा-प्रतिभा पलायन रोकौँ, गएकालाई फिर्ता बोलाऔँ भन्ने प्रस्ताव गर्दै धेरै नेताका डेरा, मन्त्रालय गएर ५ वर्ष बिताएँ तर नेताहरूको दिमागमा घुसेन। कुटेर, गाली गरेर भएन। त्यसैले जनस्तरबाट यो मुद्दा उठाएको हो। भएन। अब युवा सक्रिय हुनु पर्यो। देश समृद्ध बनाउने समाजसेवाले मात्र हैन रिसर्च र इनोभेसनको कल्चरमा लगानी हुनु पर्छ । स्वदेशमा उत्पादन भई आर्थिक सुधार हुनुपर्छ।”
अहिले त आविष्कार केन्द्रलाई स्व:स्फूर्त सहयोग आइ रहेको छ तर अब यसलाई सस्टेनेबल कसरी बनाउने भन्ने प्रश्नमा दाइले, ” मैले सधैँ पैसा हैन आइडिया, समय मागेको हो। तर नमाग्दा , नमाग्दै दिन्छन्। मागेर कति चल्छ हेरौँला भन्नेलाई मेरो जवाफ हो मैले मागेकै छैन। दिनेले बुझेर दिएका छन्। फेरी सबै लो , मिडल इन्कम वालाले सद्भावले दिएका हुन्। धनी, चर्चित र ठुलालाई मान चाहिने होला शायद। सस्टेनेबिलिटीका उपाय गर्दै छौँ। हामीले २०१२ मा दिगो बनाउन १० मेवाको हाइड्रो पावर बनाउने भन्ने थियो। त्यसले वर्षमा २०, २५ करोडको बिजुली बेचेर ८, १० करोड बचे सस्टेन हुन्छ भन्ने थियो। सरकारलाई मैले एक़ुइटीको ३० % मागेका थियौँ। पाएनौँ।अनि अहिले प्लान बि तर्फ लाग्यौँ एउटा सफ्टवेयर कम्पनी खोल्ने। कृषि औजारहरू बनाउने अर्को कारखाना बनाउने पनि योजना छ हाम्रो।
“बाहिरबाट आएर गर्न देशमा सकिने अवसर के छन्”, भन्ने प्रश्नमा दाइले भने, “विदेश भ्रमणमा जाँदा पनि यो मलाई धेरै युवाले यो प्रश्न सोध्नु हुन्छ। मैले त हनेस्टली प्ल्याट फर्म बनाएको हो। उद्यमशीलता र नव प्रवर्तनमा सक्सेस रेट १० , १५ प्रतिशत हुन्छ। यहाँ केही प्रोटोटाइपमा लगानी गर्न सकिन्छ।यहाँ शेयर हालेर चल्ने कम्पनी हैन। आउनुहोस् अनुसन्धान गर्नुहोस्।योजना लिएर आउनुहोस्। हामीले भर्खर बिउ रोपेका छौँ। दुई तीन पात मात्रै हालेको छ। अहिले स्याहार गरे भोलि फल खान सकिन्छ। म १९९२ मा नेपाल आउँदा नेपाल आएर यो, उ गर्छु भनेर आएको हैन। इन्टरनेट खोल्ने जस्तै आविष्कार केन्द्र पनि खोलेको हो।”