KhabarUjyalo

भारतले ५ वर्षभित्र पेट्रोलमा प्रतिबन्ध लगाउने

२४ असार २०७९, शुक्रबार
भारतले ५ वर्षभित्र पेट्रोलमा प्रतिबन्ध लगाउने

संसारभरि महंगी बढिरहेको बेलामा तेलको भाउ पनि आकासिएको छ । यसैबीच भारतका केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले बिहीवार ठूलो बयान दिएका छन् ।

पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेकाले आगामी पाँच वर्षमा भारतमा पेट्रोलमाथि प्रतिबन्ध लगाइने उनले बताए । डा पंजाबराव देशमुख कृषि विश्वविद्यालयको ३६औं दीक्षान्त समारोहमा बोल्दै गडकरीले बायो इथेनोल उपयोग गरिएका वाहनहरू प्रयोगमा ल्याइने बताए ।

यस हरित अक्सिजनलाई इनारको पानीबाट बनाउन सकिने र ७० भारु प्रतिकिलोको हिसाबमा बेच्न सकिने उनको भनाइ छ।

इथेनोलका बारेमा निर्णय लिँदा देशमा २० हजार करोड भारुको बचत भएको उनको भनाइ छ । निकट भविष्यमा दुईपांग्रे र चारपांग्रे वाहनमा ग्रीन हाइड्रोजन, इथेनोल र सीएनजी लगाइने अनि पेट्रोल र डिजेललाई क्रमशः विस्थापित गरिने गडकरीले बताए ।

त्यस्तै, दुई महिनापछि पहिलो पटक कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ। यसअघि अप्रिलमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १४० डलरसम्मको उचाइमा पुगेको थियो।

मे महिनापछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको यो पहिलो पटक हो। तर ब्रेन्ट कच्चा तेल भने अप्रिल २५ देखि १०० डलरभन्दा कम भएको छैन।

वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य मंगलबार १० प्रतिशत जति खस्किएको थियो। जुन प्रति ब्यारेल ९९.५० डलरको न्यून बिन्दु हो।

हालैका हप्ताहरूमा विश्व बजारमा मन्दीको बढ्दो डर पैदा भइरहेको छ। यसले इन्धन खपत कम हुन थालेको महसुस गरिएको छ। जसले तेलको मूल्यलाई तीव्र रूपमा कम गर्न सहयोग गरेको बताइन्छ।

जुन ८ मा ब्रेन्ट कच्चा तेल प्रति ब्यारेल १२३ डलरमा थियो। सबै भन्दा उच्च प्रति ब्यारेल १४० डलरसम्म पुगेको थियो।

युक्रेनमा रसियाको आक्रमणले अमेरिका र यसका युरोपेली सहयोगीहरूलाई रसियाको ऊर्जा निर्यातमा प्रतिबन्ध लगाउन प्रेरित गरेपछि यस वर्षको सुरुमा तेल र ग्यासको मूल्य बढेको थियो।

तेल अहिले प्रति ब्यारेल करिब १०० डलरमा वरिपरी घुमिरहेको छ। केही विश्लेषकहरूले गरेका प्रक्षेपण अनुसार यदि अर्थव्यवस्था मन्दीमा पर्‍यो भने २०२२ को अन्त्यमा कच्चा तेलको मूल्य प्रति ब्यारेल लगभग ६० डलर मा झर्नेछ। यस्तै २०२३ सम्ममा प्रति ब्यारेल ४५ डलरसम्म हुने प्रक्षेपण पनि गरिएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo