KhabarUjyalo

गायक पशुपति शर्माको ‘लुट्नसके लुट’ गीत युट्युबमा पुनः सार्वजनिक(भिडियो)

२५ जेष्ठ २०७८, मंगलवार
गायक पशुपति शर्माको ‘लुट्नसके लुट’ गीत युट्युबमा पुनः सार्वजनिक(भिडियो)

काठमाडौं – पशुपति शर्माको ‘बहुचर्चित’ गीत लुट्नसके लुट कान्छा’ पुनः युट्युबमा सार्वजनिक गरिएको छ । झण्डै तीन वर्षपछि उक्त गीत फेरि युट्युबमा राखिएको हो ।

०७५ को फागुनमा उक्त गीत युट्युबमा राखिएको थियो । गीतलाई धेरै दर्शक–स्रोताले मनपराए ।

देशमा लुटको राजनीति हाबी भएको सन्देश दिइएको छ । साथै, हरेक क्षेत्रमा भ्रष्टाचार बढेको गीतमा औंल्याइएको छ । भिडियो पनि गीतअनुसारकै बनाइएको छ ।

गीतका शब्दमा ‘स्वर्गजस्तो देशमा हेर यमराजको शासन’ भन्ने हरफ राखिएको छ । यसलाई लिएर सत्तारुढ नेकपा (एमाले)को भातृ संगठन युवा संघले गीतका सर्जकसमेत रहेका गायक शकर्मालाई धम्की दिएका थिए । गीतमा यमराज भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरिएको उनीहरुको आरोप थियो ।

यो गीतलाई लिएर प्रधानमन्त्री ओलीले पनि सार्वजनिक टिप्पणी गर्नुभएको थियो । गीतले लुट्न सिकाउने सन्देश दिएको उहाँको आरोप थियो ।
‘एउटा गायकलाई गरी खाएर काम भएन भनेर लुट्न सिकाउने गीत बनाउने भूत चढेछ । जनताले मननपराएपछि आफैं युट्युबबाट हटाएछन्’, उहाँको टिप्पणी थियो ।

गायक शर्माले भने यसको खण्डन गर्नुभएको थियो । यद्यपि, बारम्बार धम्की आएपछि उहाँले उक्त गीत युट्युबबाट हटाउनुभएको थियो । अहिले पुनः राखिएको छ ।

देशको परिस्थितिअनुसार ‘लुट्सके लुट कान्छा’ गीत अहिले झनै बढी सान्दर्भिक भएकाले युट्युबमा पुनः सार्वजनिक गरिएको गायक शर्मानिकट साथी सूर्य रेग्मीले जानकारी दिनुभयो ।

पुनः गीत युट्युबमा आएको भन्दै अधिकांश दर्शक तथा स्रोताले सुखी व्यक्त गरेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo